मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० देशमा राजदूत नियुक्त : १२ जना राजनीतिक भागबन्डाबाट

२० देशमा राजदूत नियुक्त : १२ जना राजनीतिक भागबन्डाबाट


काठमाण्डाै – सरकारले निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा व्यापक राजनीतिक नियुक्तिहरू गरेको छ । 

बिहीवार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ ।

राजदूत नियुक्तिको सिफारिसमा एकीकृत समाजवादीको कोटाबाट पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मीला पराजुली ढकालसमेत हुनुहुन्छ । पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस हुनुभएको हो ।

श्रीलङ्काको राजदूतका लागि सिफारिस भएका वासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुनुहुन्छ । चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ सिफारिसमा पर्नुभएको छ । जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूतको सिफारिसमा पर्नुभएको छ । यसअघि श्रीलङ्काको राजदूतबाट राजीनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योति प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ ।

दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र इजरायलमा शान्ता रिजालको नाम सिफारिस तथा जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस हुनुभएको छ । रसियाको राजदूतका लागि मिलन तुलाधर, श्रीलङ्कामा वासुदेव मिश्र र मलेसियाको राजदूतमा डिल्लीराज पौडेल सिफारिस हुनुभएको छ ।

परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्ले सिफारिस हुनुभएको छ ।