मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर मनोनयन दर्तामा स्वतन्त्र उम्मेदवारहरु अगाडी, त्यसपछि एमाले

देशभर मनोनयन दर्तामा स्वतन्त्र उम्मेदवारहरु अगाडी, त्यसपछि एमाले


काठमाडौं । उम्मेदवारी मनोनयनमा देशभर स्वतन्त्र उमेद्वारहरुको संख्या सबैभन्दा बढी देखिएको छ । त्यसपछि नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले सबैभन्दा बढी ठाउँमा मनोनयन दर्ता गराएको देखिन्छ ।

अनलाइनखबरले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार, धेरैजसो पदमा स्वतन्त्र उम्मेदवारहरुको संख्या बढी छ । दलगत रुपमा एमालेको मनोनयन बढी देखिएको छ ।

नगर प्रमुख (मेयर) पदमा ८८५ उम्मेदवारी दर्ता हुदा एमालेले २३३ उम्मेदवारी दर्ता गरेको छ भने कांग्रेसले १९४ ठाउँमा मात्रै मनोनयन दर्ता गराएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको १८७ ठाउँमा मनोनयन परेको छ ।

गाँउपालिकाहरुको अध्यक्ष पदमा पनि स्वतन्त्र उम्मेदवारहरुको मनोनयन नै हाबी छ । ७४२ ठाउँमा अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।

त्यसपछि एमालेले ३७५ ठाउँमा उम्मेदवारी दिएको छ । कांग्रेसले २९९ ठाउँमा मनोनयन दर्ता गरेको छ । राप्रपाको संख्या २१६ छ ।

उपमेयर पदमा २८२ स्वतन्त्र उम्मेदवारी परेको छ । त्यसपछि एमालेले २२१ ठाउँमा उम्मेदवारी दर्ता गरेको छ । राप्रपाले १६० र कांग्रेसले १४१ ठाउँमा मनोनयन दर्ता गरेको देखिन्छ ।

उपाध्यक्ष पदमा एमालेको मनोनयन सबैभन्दा बढी छ । उसले ३६४ ठाउँमा मनोनयनपत्र दर्ता गराएको छ । स्वतन्त्र उम्मेदवारहरुले २६४ ठाउँमा मनोनयन दर्ता गराएका छन् ।

त्यसपछि कांग्रेसले २६२ ठाउँमा उम्मेदवारी दिएको देखिन्छ भने माओवादी केन्द्रले २२० ठाउँमा उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा समेत एमालेको मनोनयन अगाडी देखिएको छ । उसले ४ हजार ३५६ ठाउँमा मनोनयन दर्ता गर्दा स्वतन्त्र उम्मेदवारहरुले ३ हजार ८७४ ठाउँमा उम्मेदवारी दिएका छन् । कांग्रेसले ३ हजार २५८ ठाउँमा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रले २ हजार २०४ ठाउँमा दर्ता गराएको देखिन्छ ।

‘अरु दलहरुले तालमेलमा मनोनयन दर्ता गरेका छन्, त्यसको तुलनामा एमालेले सबैतिर उम्मेदवारी दिएकाले संख्या बढी देखिएको हो,’ मनोनयनपत्र दर्ताको तथ्यांक विश्लेषण गरिरहेको निर्वाचन आयोग स्रोतले भन्यो, ‘सोमबार दिउँसो २ बजेपछि धेरै ठाउँमा चाप परेकाले अहिले आएको प्रारम्भिक विवरण मात्रै हो । त्यो अद्यावधिक हुने क्रममा छ ।’