मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा एमाले ‘क्लिन स्वीप’, कर्ण मल्लको विद्रोहपछि झनै बलियो काँग्रेस !

डडेल्धुरामा एमाले ‘क्लिन स्वीप’, कर्ण मल्लको विद्रोहपछि झनै बलियो काँग्रेस !

सुदूर आज

नवराज पनेरु, धनगढी : डडेल्धुरामा नेपाली काँग्रेसलाई जसरी पनि रोक्ने उद्देश्य लिएर नेकपा एमाले र काँग्रेस (बीपी)बीच चुनावी तालमेल भयो। सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि छुट्टै तालमेल गरे। काँग्रेस भने एक्लै चुनावी मैदानमा उत्रियो। 

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला भएकाले एमालेले ०७४ मा जितेको पालिका पनि काँग्रेस ९बीपी०को भागमा लगायो। काँग्रेसबाट विद्रोह गरेर आफ्ना नेताहरुलाई काँग्रेस (बीपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडाउने र एमालेसंग तालमेल गर्ने अभियानका नेतृत्वकर्ता थिए, काँग्रेस डडेल्धराका पूर्वसभापति कर्ण मल्ल।

तर काँग्रेसबाट निष्कासित मल्लसंगै एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको चाहनाविपरीत जिल्लामा स्थानीय तह निर्वाचनको नतिजा आएको छ। जिल्लामा काँग्रेस र माओवादी केन्द्रले क्लिन स्वीप नै गरेका छन्। ०७४ को निर्वाचनमा दुई पालिका जितेको एमाले यसपटक कर्ण मल्ल नेतृत्वको काँग्रेस (बीपी)संग तालमेल गरेर पनि निल भएको छ।

काँग्रेसले भने ०७४ सालमा पर्शुराम, गन्यापधुरा, भागेश्वर र आलिताल गरी चार पालिका जितेकोमा ०७९ मा पाँच पालिकामा जित हात पारेको छ। ०७४ मा जितेको आलिताल यसपटक गुमाएको छ भने ०७४ मा पराजित भएको नवदुर्गा र अमरगढीमा जित निकालेको छ। आलिताल र अजयमेरुमा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा विजयी भएका छन्। 

जिल्ला नेतृत्वले गरेको गलत कमदका कारण एमाले डडेल्धुरामा निल भएको एमाले नेता तथा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा बताउँछन्। ‘संगठन बचाउनका लागि हो भने जिल्लामा काँग्रेस बीपीसंग तालमेल गर्नुपर्ने आवश्यकता नै थिएन,’ उनले दिनेशखबरलाई भने, ‘सबै पालिका र वडामा उम्मेदवार नै नउठाएपछि संगठन बचाउन सकिन्न।’

काँग्रेस (बीपी)बाट अमरगढीमा मेयरमा पराजित हरि भट्टले आफु र आफ्ना उम्मेदवारको प्राविधिक रुपमा मात्रै हार भएको बताए। ‘यो चुनावमा हामीप्रति नागरिक धेरै सकारात्मक देखिए,’ उनले भने, ‘अहिल पनि समाजमा केही भ्रम छन्। ती भ्रम चिर्न आवश्यक छ।’ 

नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले केही व्यक्तिले विद्रोह गरे पनि ०७४ सालभन्दा काँग्रेस बलियो भएर आएको बताए। ‘०७४ सालमा नेपाली काँग्रेस चार पालिका र १७ वडामा मात्रै विजयी भएको थियो,’ साउदले भने, ‘यसपटक पाँच पालिका र २९ वडामा जित भएको छ। अन्य ठाउँमा पनि झिनो मतान्तरले मात्रै पराजित भएका छौं। ०७४ सालको भन्दा धेरै राम्रो अवस्थामा पुगेका छौ।’ 

०७४ सालको निर्वाचनमा काँग्रेसकै एक पक्षले भित्रै बसेर असहयोग गर्दा नवदुर्गा र अमरगढी गुमाएको काँग्रेस नेताहरुको दाबी थियो। ‘त्यो पक्ष अहिले बाहिरिएपछि ती पालिकामा जित हात पार्न सहज भएको हो,’ काँग्रेस डडेल्धुराका एक नेताले भने। यस्तै जिल्लामा रहेका ५२ वडामध्ये माओवादी केन्द्र १३, नेकपा एमाले ४, एकीकृत समाजबादी २, काँग्रेस (बीपी) २ र स्वतन्त्र २ वडामा विजयी भएका छन्।