मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कति समयको फरकमा खाना खानु राम्रो ?

कति समयको फरकमा खाना खानु राम्रो ?


व्यस्त जीवनशैली र खानपानमा उचित ध्यान पुर्‍याउन नसक्दा हिजोआज मानिसको प्रतिरक्षा प्रणाली कमजोर बन्दै गइरहेको छ । बिहान उठ्नेदेखि राति सुत्ने समय निश्चित छैन । खानाको हकमा पनि त्यस्तै नै छ । बिहान खानुपर्ने खाना दिउँसो र बेलुका खानुपर्ने खानेकुरा राति खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या आइरहेका छन् ।

सामान्यतया हाम्रो आमाशयको आकार दुईवटा मुठ्ठी बराबरको हुन्छ । तर त्यो आमाशय पाँच गुनासम्म तन्किन सक्छ । जसले हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खायौं र समयमा खाएनौं भने पनि अट्छ तर पच्न भने धेरै समय लाग्छ ।

हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ । ९ बजे हतारहतार गरेर खाना खायो । दिउँसो १ देखि २ बजेसम्म अफिसमा खाजा खाने समय हुन्छ, भोक नलागे पनि खाइदिन्छौं । तर खानाको साथै खाना खाने समयको ख्याल राखे पाचन प्रक्रियासम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

कुन समयमा खाने ?

खाना खाने सबैभन्दा उचित समय भनेको भोक लागेपछि हो । किनकि भोक लागेको बेला खाना पचाउने पाचन रसहरू उत्पादन हुन्छन् । जसले खानालाई राम्ररी पचाउन मद्दत गर्छ ।

हामीले खाएको खाना पच्न चारदेखि ६ घण्टा लाग्ने भएकाले त्यही समयको अन्तरालमा खाना खानु उचित हुन्छ । यदि बिहान ५ बजे उठियो भने उठेर फ्रेस भएको ४५ मिनेटभित्र बिहानको खाजा खानु राम्रो हुन्छ ।

बिहानको खाजा कस्तो खाएको हो त्यही अनुसार समय अन्तरालमा खाना खानु उचित हुन्छ । यदि कार्बोहाइड्रेटवाला खाजा खाइएको हो भने चार घण्टापछि १० बजेपछि खाना खानु राम्रो हुन्छ । तर यदि बिहानको खाजा प्रोटिनवाला खाएको छ भने ६ घण्टापछि अर्थात् मध्यान्ह १२ बजेपछि खाना खानु राम्रो हुन्छ ।

१० बजेपछि बिहानको खाना खाएको छ भने २ बजेपछि खाजा खानुपर्छ । खाजा कस्तो खाएको छ त्यही अनुसार चारदेखि ६ घण्टाको अन्तरालमा बेलुकाको खाना खानु उपयुक्त हुन्छ । यसरी हामीले दिनभरिमा खाने चार पटकको खानालाई उचित समयमा खायौं भने हाम्रो तौल पनि नियन्त्रणमा रहन्छ ।

(पोषणविद् महर्जनसँग गरेको कुराकानीमा आधारित)