मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिडियाखानामा मान्छे नआएपछि दस वर्षमा पहिलोपटक पान्डाले गरे सम्भोग

चिडियाखानामा मान्छे नआएपछि दस वर्षमा पहिलोपटक पान्डाले गरे सम्भोग


यिङ–यिङ र ले–ले बीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो।

आफ्नो प्राकृतिक बासस्थानबाट टाढिएपछि मनमा संसर्गको हरक नै आउन छाडेको हो कि! वा, यो पनि हुनसक्छ, मनमा हरक जागे पनि दिनरात पछ्याइरहने सयौं जोडी मानव–आँखा छलेर यिनले आफ्नो निम्ति सुटुक्क समय निकाल्नै भ्याएनन्।

हामी कुरा गर्दै छौं, हङकङ ‘ओसन पार्क’ चिडियाखानाको, जहाँ पान्डा जोडीले कोरोना महामारीपछिको लकडाउनमा लसपस गर्ने समय पाएका छन्।

हङकङ पार्कले सोमबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको यो सूचना अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रसारण गरेका छन्।

पान्डाहरूको प्राकृतिक संसर्गको याम मार्च अन्त्यबाट सुरू हुन्छ। त्यही बेलादेखि ले–ले पोखरीमा छप्ल्याङछुप्लुङ पानी खेल्दै रमाउन थालेको थियो। ऊ भाले पान्डा हो। भाले पान्डा रमाउँदै हिँड्नु र पानी खेल्नुले उसमा संसर्गको इच्छा जागेको बुझिन्छ।

यसरी घुम्दा भालेले शरीरको गन्ध छाडेको हुन्छ। यसबीच पोथी पान्डा यिङ–यिङ पनि आफ्नो बासस्थान वरिपरि शरीरको सुगन्ध छरिरहेकी थिई।

संसर्ग निम्ति एकअर्काको बासना पछ्याइरहेका भाले–पोथी जब नजिक आउँछन्, उनीहरू एकअर्कासँग जिस्कन्छन्। फकाउँछन्। खेदाखेद गर्छन्। अंगालो हाल्छन्। एकअर्कालाई चाट्छन्। लडिबुडी गर्छन्। र, जब मन मिल्छ, उनीहरूको तन मिल्छ।

हरेक वर्ष मार्चदेखि मे महिनाबीच भाले र पोथी पान्डाले यस्तै व्यवहार देखाउने हङकङ पार्कको विज्ञप्तिमा छ।

यिङ–यिङ र ले–ले ले जब यसपालिको संसर्ग याममा यही व्यवहार देखाए, हङकङ पार्कका भेटरिनरी डाक्टर र जनावरसम्बन्धी विज्ञहरू यो जोडीलाई नजिकबाट पछ्याउन थाले। उनीहरूको प्रत्येक क्षणको आनीबानी र शारीरिक परिवर्तन मिहिन केलाए।

यही क्रममा सोमबार बिहान ९ बजेतिर उनीहरूबीच शारीरिक सम्पर्क भएको हङकङ पार्कले पुष्टि गरेको छ।

पार्कले यिङ–यिङ र ले–ले को यो एकान्त क्षणको तस्बिर पनि सार्वजनिक गरेको छ। कोरोना भाइरस संक्रमण फैलिएपछि जनवरी २६ देखि पार्क सुनसान छ। मान्छे आवागमन निषेध गरिएको छ। यसले पनि उनीहरूलाई एकअर्कासँग जिस्कने, चाटाचाट गर्ने र लडिबुडी गर्ने मौका दियो।

त्यही जिस्काइ अन्ततः सम्भोगसम्म पुग्यो।

तस्बिर स्रोत: हङकङ ओसन पार्क

यो पान्डा जोडी हङकङ पार्कमा बस्न थालेको १४ वर्ष भयो। ओसन पार्कका कार्यकारी निर्देशक माइकल बोसका अनुसार, यिनीहरूलाई सन् २००७ मा यहाँ ल्याइएको थियो। त्यसको तीन वर्षपछि २०१० मा उनीहरूलाई प्राकृतिक रूपले सम्भोग गराइएको थियो।

त्यसपछि हरेक वर्ष थुप्रैचोटि प्रयास गर्दा पनि यिङ–यिङ र ले–ले एकअर्काको नजिक आएनन्।

यसपालि दस वर्षपछि उनीहरूलाई नजिक ल्याउने र शारीरिक रूपमा मिलन गराउने प्रयास सफल भएको उनले बताए।

‘उनीहरूको प्राकृतिक संसर्गले हामी उत्साहित छौं। पान्डाहरूको संरक्षणका लागि यो निकै खुसीको खबर हो। अब यो वर्षको अन्त्यतिर हङकङवासीले पान्डा गर्भवती भएको अर्को खुसीको खबर सुन्न पाउने आशा गरेका छौं,’ उनले भनेका छन्, ‘गर्भधारण राम्ररी भयो भने जोखिमपूर्ण अवस्थामा पुगेको यो जनावरमा नयाँ सदस्य थपिएला।’

भाले पान्डा सात वर्षको उमेरबाट यौन सम्पर्क राख्न तयार हुन्छ भने पोथी पान्डा पाँच वर्षमै तयार हुन्छे। लामो समयदेखि प्राकृतिक सम्भोग नगरेका यो जोडीलाई प्रयोगशालामा ल्याएर कृत्रिम रूपले संसर्ग गराउन पनि सकिन्छ। त्यसो गर्दा गर्भाधानको सम्भावना भने कम हुने बोसले बताए।

हङकङ पार्कले पान्डा संरक्षणका लागि चीनको ‘कन्जरभेसन एन्ड रिसर्च सेन्टर‘ का विज्ञहरूसँग मिलेर काम गर्दै आएको छ। पार्कले अब पोथी पान्डा यिङ–यिङको शारीरिक तथा हर्मोन परिवर्तनलाई नजिकबाट अनुगमन गर्नेछ। ढिलोमा जुन महिनाको अन्त्यभित्र गर्भधारणको संकेत देखिनेछ।

ओसन पार्कबाट यो सूचना सार्वजनिक भएपछि हङकङवासीले सामाजिक सञ्जालमार्फत् पान्डा जोडीलाई शुभकामना दिएका छन्। कतिपयले पान्डा जोडीको प्रेमिल क्षणप्रति इर्ष्या पनि देखाएका छन्।

संसारमा पान्डाको संख्या घट्दो क्रममा छ। कुनै बेला यसलाई ‘इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर’ ले लोपोन्मुख सूचीमा राखेको थियो। सन् २००४ देखि २०१४ बीच यसको संख्या १४ प्रतिशत वृद्धि भयो। त्यसपछि २०१६ मा लोपोन्मुखबाट जोखिमपूर्ण सूचीमा सारिएको छ।- setopati.com