मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता संशोधन विधेयक राज्य व्यवस्था समितिले गर्यो बहुमतका आधारमा पारित

नागरिकता संशोधन विधेयक राज्य व्यवस्था समितिले गर्यो बहुमतका आधारमा पारित


काठमाडौं- नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्राबधानसहित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता संशोधन विधेयक पारित भएको छ।

सत्तारुढ नेकपाले गरेको निर्णयअनुसार आइतबार समितिको बैठकबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने व्यवस्थासहितको नागरिकता संशोधन विधेयक बहुमतको आधारमा पारित भएको हो।

संशोधन गर्न लागिएको ऐनमा नेपाली पुरुषसँग वैवाहिक सम्बन्ध राखेका विदेशी महिलाले ७ वर्ष निरन्तर नेपालमा स्थायी बसोबास गरेपछि अंगिकृत नागरिता प्राप्त गर्नेछन्। ७ वर्ष निरन्तर नेपालमै बसेको पुष्टिका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ।

त्यस्तै त्यसअघि कुनै देशको नागरिकता लिएको भए नागरिकता त्यागेको हुनुपर्नेछ। त्यस्ता महिलालाई नागरिकता प्राप्त नगरुन्जेलसम्मका लागि सरकारले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्नका लागि स्थायी आवसीय अनुमति पत्र दिनेछ।

यो प्राबधानसहितको संशोधन विधेयकका पक्षमा नेकपामा सांसदहरुले मतदान गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विपक्षीमा मतदान गरेका छन्।यसअघि आइतबार नै नेपाली कांग्रेसले उक्त प्रस्तावमा असहमति जनाउँदै आफ्नो फरक मत दर्ता गराएको थियो।

कांग्रेस र जसपाले नागरिकता ऐन २०६३ अनुसार नेपाली पुरुषसँग विवाह गरेपछि विदेशी महिलाले सम्बन्धित देशको नगारिकता त्याग्ने प्रक्रिया सुरु गरेपछि नेपाली नागरिकता प्राप्तिको प्रक्रिया सुरु गर्न पाउने व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने बताउँदै आएका छन्। – नेपाल समय