मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिने क्षेत्रका लागि चुनौतीसँगै अवसर पनि हो : कलाकार

सिने क्षेत्रका लागि चुनौतीसँगै अवसर पनि हो : कलाकार


नेपाली चलचित्रका दर्शक बढेका छन्
– केकी अधिकारी

प्रायः काममा व्यस्त भएर एक दिन पनि घर बस्न नपाउने । अहिले भने फुर्सदमा छु । व्यस्तताले गर्दा आफ्नै र परिवारको विषयमा पनि धेरै सोच्न पाएको थिइन । यतिबेला भने आफ्नो विषयमा चिन्तनशील बन्ने मौका पाएको छु, परिवारको अवस्थालाई नियाल्ने मौका मिलेको छ । यो अवसर लकडाउनले जुराइदिएको छ ।

यतिबेला पारिवारिक समय बिताउँदै गर्दा पुस्तक पढ्ने, साथीहरुसँग भर्चुअल भेटघाट गर्ने, चलचित्र हेर्ने गरेको छु । तर काम गर्न नपाउँदाको छटपटी भने हुँदो रहेछ ।

यो मानवीय संकट हो । यसले कस्तो अवस्था ल्याउला भन्ने कुरा कसैले भन्न सक्ने अवस्था छैन । मानिसको परीक्षा त्यो बेला हुन्छ, जनबेला ऊ दुःखमा हुन्छ। हाम्रो अहिले त्यही परीक्षाको समय हो– जीवन कसरी जिउनुपर्छ र दुःखलाई सामना गर्नुपर्छ भन्ने पक्षमा । अझै यो महामारी कहिलेसम्म हुने कुनै निश्चित छैन ।

यो समयमा हामी मनोरञ्जनको क्षेत्रबाट टाढा हुन्छौं, थिएटरका कार्यक्रम बन्द छन् । कोरोनाले प्रत्यक्ष रुपमा धेरै असर परेको क्षेत्र मनोरञ्जन पनि एक हो । सबै क्षेत्रलाई असर त गरेको छ नै, तर असर गरेको छ भनेर चिन्ता गरेर पनि जिन्दगी चल्दैन । भविष्यको बारेमा चिन्तनशील हुने हो, चिन्ता लिने होइन । चिन्ता लिनु भन्दा पनि विकल्प खोज्नु आवश्यक छ । यसको विकल्प छ र विकल्प खोज्नु पनि पर्छ ।

गाँस, बास, कपास पूरा भएपछि मानिसलाई चाहिने मनोरञ्जन नै हो । मानिस मनोरञ्जनबिना बाँच्न सक्दैन । केही समय त पक्का लाग्ला यो समय ठिक हुन । तर उज्यालो भविष्य पक्कै आउनेछ । हामी आशा र सपनामा बाँच्नुपर्छ ।

यो समय भनेको कलाकारहरुले दर्शक कमाएको समय पनि हो । यो समयमा दर्शकहरुले घरमा बसेर विभिन्न चलचित्रहरु हेरिरहेका छन् । नेपाली चलचित्रका पनि दर्शक बढेका छन् । तर त्योसँगै चलचित्र क्षेत्रलाई चुनौती पनि थपिएको छ । दर्शकहरुले विश्वभरका चलचित्र हेरेका छन् । कहिल्यै चलचित्र नहेर्नेले पनि समय बिताउन भए पनि चलचित्र हेरेका छन् ।

अब अझै राम्रो चलचित्र दिनुपर्ने बाध्यात्मक अवस्था आउँछ । दर्शकहरुले भारतलगायत अन्य देशमा निर्माण भएका सिनेमाको तहमा नेपाली सिनेमाको अपेक्षा गर्नु स्वाभाविक हो । यसका लागि हामीले पनि सोच्नुपर्ने अवस्था पक्कै आउनेछ ।

हामी आफूले आफूलाई मूल्यांकन गरेर अबको बाटो के हुन्छ र दर्शकले रुचाउने विषयवस्तु कुन हो भन्ने मुख्य कुरा हो । यसमा ध्यान पुर्याएर कलाकार र सिने व्यवसायीहरुले काम गर्ने बेला हो जस्तो लाग्छ ।

सिनेमा क्षेत्रका लागि चुनौतीसँगै अवसर पनि हो
– दयाहाङ राई

लकडाउनको समय सबैलाई अप्ठ्यारो अवस्था हो । विश्व बजारमा धेरै कलाकारहरुले यस महामारीमा आर्थिक सहयोग गरेका छन् । नेपाली कलाकारले अरु बेलामा धेरै कमाउँछन् तर यतिबेला मौन बसेका छन् भन्ने प्रकारका कुराहरु पनि आएका छन् ।

हामीमा समस्या छ । एक त आम मानिसले हाम्रो कलाकारिताको व्यापकतालाई बुझ्न अझ बाँकी छ । हामी कलाकारितामा लागे पनि व्यावसायिक भइसकेका छैनौँ, श्रमिक नै छौँ । एक सिजनमा गरेको कामले अर्काे सिजनलाई धान्नुपर्ने अवस्था छ । तर हाम्रै छिमेकी मुलुकका कलाकारहरुको अवस्था धेरै राम्रो छ। उनीहरु कलाकार हुन्, श्रमिक होइनन् । सफल छन्, व्यावसायिक भइसकेका छन् । हाम्रो क्षेत्र सानो छ ।

नेपाली सिनेमाले विश्व बजारमा आफूलाई फिँजाउन सकेको छैन भने नेपाली सिनेमा अझ पनि व्यावसायिकतामा लम्किन सकेको छैन । यो समयमा आम दर्शकले नेपाली चलचित्र बजारलाई नियालेका छन् । नेपाली चलचित्रको गुणस्तर र अन्य भाषा वा देशका चलचित्रको गुणस्तरबीच तुलना गर्ने मौका भएको छ । अब नेपाली चलचित्र क्षेत्रमा सुधार नआए कलाकारको भविष्य पनि संकटमा पर्न सक्छ ।

यो समयमा नेपाली कला क्षेत्रले पनि दर्शक कमाएको जस्तो लाग्छ । अब कला क्षेत्रका मानिसले आफूलाई माझ्नुको विकल्प छैन । यो एउटा अवसर पनि हो र चुनौती पनि हो ।

(किताब जात्राले आयोजना गरेको भर्चुअल कार्यक्रममा राखेको विचार नेपाल समय बाट साभार )