मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन खुकुलो भएसँगै भयावह बन्दै कोरोना

लकडाउन खुकुलो भएसँगै भयावह बन्दै कोरोना

एकै दिनमा थपिए २ लाख ८ हजार संक्रमित


काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसले झनै भयावह रुप लिएको छ । अहिलेसम्मको रेकर्ड तोड्दै बिहीबार एकै दिनमा कोरोनाबाट २ लाख ८ हजार ८ सयभन्दा धेरै व्यक्ति संक्रमित भएका छन् ।

एकै दिनमा २ लाख बढि कोरोना संक्रमित थपिएको यो पहिलो पटक हो। यसअघि बुधबार १ लाख ९६ हजार ९ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको थियो । त्यसअघि जुन २६ अर्थात् असार १२ गते १ लाख ९५ हजार ४ सय ९६ जना संक्रमित थपिएका थिए । त्यसको एक हप्ताअघि असार ५ गते १ लाख ८२ हजार ६ सय २३ जनामा संक्रमण पुष्टि भएको थियो ।

दिनहुँ रेकर्ड तोड्ने गरि संक्रमित थपिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचआ)ले चिन्ता ब्यक्त गरेको छ । विश्वका अधिकांश देशले लकडाउन खुकुलो बनाएको, डब्लुएचओले दिएको गाइडलाइन पालना नगरेको, सामाजिक दुरीमा ध्यान नदिएको लगायतका कारण कोरोनाको संक्रमण झनै भयावह भएको डब्लुएचओ ठहर छ ।

कोरोनाबाट शुक्रबार बिहानसम्ममा १ करोड ८ लाख ३५ हजारभन्दा बढि व्यक्ति संक्रमित भएका छन् । ५ लाख २० हजार ६ सय ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार १ सय ५५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा ५७ हजार २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ भने ६ सय ८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४७ हजार ९ सय ८४ जना संक्रमित थपिँदा १ हजार २ सय ७७ जनाको मृत्यु भएको छ । रुसमा ६ हजार ७ सय ६० जना संक्रमित हुँदा १ सय ४७ जनाको मृत्यु भएको छ।

कोरोनाबाट अति प्रभावित मुलुकको चौथो सूचीमा रहेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ७७ जनाको मृत्यु भएको छ ।

बिहीबार मेक्सिकोमा ५ हजार ६ सय ८१, पाकिस्तानमा ४ हजार ३ सय ३९, बंगलादेशमा ४ हजार १९, पेरुमा ३ हजार ५ सयभन्दा बढि, इरानमा २ हजार ६ सयभन्दा बढि, चिलीमा करिब २ हजार ५ सयमा संक्रमण पुष्टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ४७३ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म १४ हजार ५ सय १९ जना संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको छ । – नेपाल समय