मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैलेश थापा क्षेत्रीलाई आईजीपी बनाउने सरकारको निर्णय

शैलेश थापा क्षेत्रीलाई आईजीपी बनाउने सरकारको निर्णय


काठमाडौं- सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्रीलाई बढुवा गर्ने निर्णय गरेको छ। मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

बरिष्ठताका आधारमा थापा आईजीपी बनेका हुन्। थापा नेपाल प्रहरीको २८ औँ आईजीपी हुन्। हालका आईजीपी ठाकुरप्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त हुँदैछन्। आईजीपीका लागि थापासहित एआईजीपी हरिबहादुर पाल प्रतिस्पर्धामा थिए।

को हुन थापा ?

भक्तपुरको कटुन्जेका रैथाने थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन्। २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी ९ वर्षपछि २०५८ वैशाख १८ गते डीएसपीमा बढुवा भए।

सेवा प्रवेश गर्दा पहिलो नम्बरमा रहेका थापा आठ वर्षपछि २०६६ पुस २० गते एसपीमा बढुवा हुँदा भने तेस्रो नम्बरमा थिए। २०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा थापा पुनः पहिलो नम्बरमा परे। २०७५ असोज २० गते सरकारले ११ डीआईजी बढुवा गर्दा थापा छैटौँ नम्बरमा थिए।

२०७६ फागुन १५ गते सरकारले एआईजीपीको बढुवा सूची सार्वजनिक गर्दा थापा दोस्रो थिए। पहिलो नम्बरमा बढुवा भएका एआईजीपी तारायणी लम्साल आईजीपी ज्ञावालीसँगै बुधबार सेवा निवृत हुँदैछन्।

थापाको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ। उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन्।

डीएसपी हुँदा धादिङ र एसपी हुँदा कास्की तथा झापा प्रहरीको नेतृत्व सम्हालेका थिए। प्रहरी प्रवक्ता भएका थापाले महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि सम्हालेका छन्। एआईजीमा बढुवा भएपछि थापा मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।

फिल्डको कमान्ड थोरै समय मात्र गरेका थापा बोस्निया, पूर्वी टिमोर र सुडान गरी तीन देशमा मिसनमा गएका थिए। प्रहरी अधिकृतहरुका अनुसार संगठनमा थापाको बौद्धिक र इमान्दार अधिकृतको छबि छ। थापा राजनीतिक लबिङबिनै संगठनले माया गरेर वरियतामा अगाडि पर्न सफल अधिकृत भएको अधिकृतहरुको बुझाइ छ। थापाले २०७९ बैशाख १९ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

थापासँगै जागिर सुरु गरेका ६० जनामध्ये केही अहिले डीआईजी छन्। अरु एसएसपी र एसपीमा रोकिएका छन्। यसअघिका आइजीपीहरु प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ज्ञवाली डीआईजीबाटै आईजीपी भएका थिए। नेपाल प्रहरीले लामो समयपछि एआइजीपीबाट आईजीपी पाएको छ। यसपछि हुने आईजीपी पनि एआईजीपीबाटै हुने देखिन्छ।

बढुवाको आधार

प्रहरी नियमावलीले महानिरीक्षक बढुवामा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमतालाई आधार मान्छ। त्यस्तै, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा बढुवा गर्नुपर्ने भनेको छ। साथै, सरकारले उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गर्न सकिने उल्लेख छ। यही प्रावधानका कारण प्रहरी महानिरीक्षक नियुक्तिमा पटकपटक विवाद देखिने गरेको छ। – नेपाल समय