मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय नाघ्यो

अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय नाघ्यो


शिवराज ढुङ्गाना, अछाम । जिलाको सदरमुकाम स्थित मङ्गलसेन नगरपालिकाका तीन जना कर्मचारीसहित १८ जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ६०३ जनालाई सङ्क्रमण भएको छ ।

नगरपालिकाको शिक्षा, कृषि शाखाका एक जना र एकजना टिप्पर ड्राइभरलाई कोरोना देखिएको हो । नगरपालिकाकाले तीनै जनालाई आइसोलेसनमा पठाइसकेको छ भने कार्यालय भने सामान्य रुपमा चलिरहेको छ ।

यसअघि कोरोना पुष्टि भएका साँफेबगर नगरपालिकाका एक वडा अध्यक्ष, एक स्वास्थ्यकर्मी र पञ्चदेवल विनायक नगरपालिकाका एक स्वास्थ्यकर्मी आइसोलेसन कक्षमा छन् । मङ्गलसेन नगरपालिकाका नौ जना, पञ्चदेवल विनायक नगरपालिकाका आठ जना र साँफेबगर नगरपालिकामा एक जना थपिएपछि अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुगेको हो ।

स्वाब परीक्षणका क्रममा साँफेबगर नगरपालिकामा १५० जना, रामारोशन गाउँपालिकामा १०४, मेल्लेख गाउँपालिकामा १०१ जना, मङ्गलसेन नगरपालिका ६८ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३४ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् ।

यस्तै चौरपाटी गाउँपालिकामा ५० जना, ढकारी गाउँपालिका २८ जना, कमलबजार २५ जना, तुर्माखाँद गाउँपालिका २३ जना कोरोना सङ्क्रमित फेला परेको कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिए । थ्रोट स्वाब सङ्कलन गरेर पठाइएकोमा केही नमुनाको पीसीआर परीक्षण हुन बाँकी रहेको बताइएको छ ।

डिस्चार्ज
अछाममा ९२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने बाँकीमा सामान्य लक्षण भएकोले अधिकांशकाे सम्बन्धित स्थानीय तहको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । चौरपाटी गाउँपालिकाका ४९ जना, मेल्लेखका २२ जना, मङ्गलसेन नगरपालिकाका १५ जना, रामारोशन गाउँपालिका दुई जना, कमलबजार र पञ्चदेवल विनायक नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकाका एक/एक जनाले कोरोना जितेका सूचना अधिकारी जोशीको भनाइ छ । कोरोना सङ्क्रमण हुनेमा अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका बताइएको छ ।

उपचारका क्रममा मृत्यु भएका रामारोशन गाउँपालिकाका एक जनामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दशवटै स्थानीय तहमा एक हजार १६३ जनामा एन्टीबडी पोजिटिभ देखिएको छ ।