मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच करोडमा बुद्ध धर्मग्रन्थ बेच्न लागेका ६ जना पक्राउ

पाँच करोडमा बुद्ध धर्मग्रन्थ बेच्न लागेका ६ जना पक्राउ


काठमाडौं- तिब्वती भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोड रुपैयाँमा बिक्री गर्ने तयारीमा रहेका ६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय अपराध महाशाकाको संयुक्त टोलीले आफै ग्राहक बनेर चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट ६ जनालाई पक्राउ गरेको हो।

थानकोट बृत्तका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रेय, काभ्रेको पाँचखाल नगरपालिका–३ का ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–१ का ३१ वर्षीय सुवासकुमार बस्नेत र ओखलढुंगा सुनकोशी गाउँपालिका–२ का ३३ वर्षीय हरिबहादुर लामिछाने छन्।

यस्तै काठमाडौंको तारकेश्वर नगरपालिका–११ का ६४ वर्षीय राजेन्द्रबहादुर जोशी र नुवाकोटको ककनी गाउँपालिका–८ का ३४ वर्षीय रोशन तामाङ छन्।

‘महंगो मूल्यमा ग्रन्थ बिक्री हुँदैछ भन्ने सूचनाका आधारमा करिब दुई हप्तादेखि प्रहरीले अनुसन्धान थालेको थियो’ डीएसपी श्रेष्ठले भने।

श्रेष्ठका अनुसार उनीहरुबाट सुनौला अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थका १६ वटा पाना बरामद भएको छ।
बुद्धको मन्त्र भन्दै महंगो मूल्यमा बिक्री गर्ने योजना उनीहरुको रहेको प्रहरीले जनाएको छ। उक्त ग्रन्थ परीक्षणका लागि पुरातत्व विभागमा पठाइने श्रेष्ठले जानकारी दिए।

पक्राउ परेकाहरुलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अन्र्तगत मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको श्रेष्ठले जानकारी दिए। – नेपाल समय