मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरोले कहाँ कति क्षति ? कुन कुन क्षेत्र जोखिममा ?

बाढी पहिरोले कहाँ कति क्षति ? कुन कुन क्षेत्र जोखिममा ?


काठमाडौं- मनसुन सक्रिय भएसँगै परेको भारी वर्षाका कारण देशका अधिकांश नदीमा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ। अविरल वर्षासँगै यतिखेर देशका धेरैजसो खोलामा पानीको बहाव बढेको छ भने पहाडी क्षेत्रका विभिन्न ठाउँमा पहिरो खस्न थालेको छ। बिहीबार राति कास्कि, लमजुङ, म्याग्दी र रुकुम पश्चिममा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

पहिरोमा परेर पोखरा महानगरपालिका–१८ सराङकोटमा ३ र पोखरा–१८ छोरेपाटन सिमलटुँडामा १ जनाको मृत्यु भएको छ । लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान पहिरोले पुरिदा सात जना बेपत्ता भएका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीमा शुक्रबार बिहान पहिराेले घर पुर्दा सुतिराखेका आमा छोराको मृत्यु भएको छ ।

यसअघि बुधबार मध्यराति बाढीसँगै पहिरो जाँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ मा २ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । यस्तै भोटेकोशी गाउँपालिका ५ मा ४ जना बेपत्ता भएका छन् ।

आज (शुक्रबार)देखि आइतबारसम्म बाढी र पहिरो खतरा उच्च रहेको गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती र नारायणी नदी तथा तिनका सहायक नदीमा पानीको बहाव बढ्ने बढ्ने र केहीमा पानीको सतह खतारको तहसम्म पुग्न सक्नेछ।

बिहिबार कन्काई, कमला र बागमतीका केहि स–साना सहायक नदी लगायत प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ को सप्तरी, सिराहा, धनुषा, महोत्तरी,सर्लाही र आसपास जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बहाव देखिएको छ।

गृहमन्त्रालय अन्तर्गतको प्राधिकरणले भारतीय सीमा आसपास भारी वर्षाको पूर्वानुमान गरिएकाले डुबान भइरहने होचा स्थान र नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै कास्की, लमजुङ, पर्वत, बागलुङ, पाल्पा, स्याङ्जा, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा भारी वर्षा भएकाले पहिरोको जोखिम रहेको भन्दै प्राधिकरणले सजग हुन भनेको छ ।

यस्तै, काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, बारा, पर्सालगायतका जिल्लाका विभिन्न क्षेत्र डुवानको खतरामा रहेकाले सर्तक हुन भनिएको छ । – नेपाल समय