मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै तीन दिन भारी वर्षा हुने, कहाँ कहाँ बाढीको जोखिम ?

अझै तीन दिन भारी वर्षा हुने, कहाँ कहाँ बाढीको जोखिम ?


काठमाडौं- मनसुन सक्रिय भएसँगै गत शुक्रबारदेखि परेको अविरल वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ । मंगलबार, बुधबार र बिहीबार पनि देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ भने केहि स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (मंगलबार) बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो र साँझ देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । बुधबार र बिहीबार पनि देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कहाँ कहाँ आउँदै छ बाढी

बाढी पूर्वानुमान शाखाका अनुसार कोसी, नारायणी र तिनका सहायक नदीमा बहाव सतर्कता आसपास रहने छ । कर्णाली, महाकाली र तिनका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तर, सतर्कता तहभन्दा तलै हुने जनाइएको छ ।

कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीमा बहाव केही घटबढ हुने । तर सबैमा सतर्कता आसपास हुने । कन्काई, कमला, बागमती र तिनका केही स–साना सहायक नदीमा खतरा तह आसपाससम्म पुग्न सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाका अनुसार आज प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का मध्यपहाडी, तराई र चुरेका भू–भाग भई बहने स–साना नदीमा बहाव बढ्ने र केही स–साना नदीमा सतर्कता तह आसपाससम्म पुग्न सक्नेछ ।

यस्तै रुपन्देही र कपिलवस्तुमा लगातार भारी वर्षा भएकाले त्यस क्षेत्रका खोला तथा नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्क हुन बाढी पूर्वानुमान शाखाले जनाएको छ । – नेपाल समय