मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन फापेका रचना, समीक्षा र एलिना

लकडाउन फापेका रचना, समीक्षा र एलिना


काठमाडौं । रचना रिमाल, समीक्षा अधिकारी र एलिना चौहान पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नो स्थान खोजिरहेका गायिका हुन् । सानो उमेरमै सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत यिनीहरूसँग जोडिएर आउने नाम हो– वसन्त सापकोटा । वसन्तले छायांकार पुरुषोत्तम अधिकारीले आफ्नो क्यामेरामा पोखरामा रेकर्ड गरेको समीक्षा अधिकारीको स्वर सुनेका थिए । 

चलचित्र ‘नाईं नभन्नु–५’ का लागि गीत ‘बालपनको उमेर’ वसन्तले तयार पारे । स्वर पनि बच्चाकै भए राम्रो हुनेथियो भन्ने लागेपछि उनले पोखरामा रहेकी समीक्षालाई काठमाडौं बोलाएर गीत रेकर्ड गराए । त्यही गीत समीक्षाको सांगीतिक करिअरका लागि माइलस्टोन बन्यो । अहिले वसन्तसँग डोयट्समेत गरेर उनले ६ वटा गीत गाइसकेकी छिन् । 

वसन्तले समीक्षामा प्रतिभा देखेर काठमाडौं डाकेर अवसर दिए । अहिले उनलाई गीत गाउन भ्याइनभ्याई छ । भर्सटाइल हुनु नै यसको मुख्य कारण हो । “जस्तोसुकै गीत गाउन सक्नु उनको सबल पक्ष हो । आधुनिक होस् वा लोकलयको गीत समीक्षा मजाले गाउन सक्छिन्,” वसन्त समीक्षाको मूल्यांकन गर्छन्, “हाई र लो दुवै रेन्ज राम्रो हुनु उनको अर्को सवल पक्ष हो ।”
‘बालपनको उमेर’ यता समीक्षाले करिब सयवटा गीत गाइसकेकी छिन् । यसमध्ये उनका करिब आधा दर्जन गीतले सफलता पनि हात पारिसकेका छन् । 

लकडाउनमा उनले २० वटा गीत गाइन् । भोकलले साथ दिएको भए यो संख्या अझै बढ्ने थियो । तर भोकलमा समस्या आएकाले उनले एक महिना गाउनै पाइनन् । अहिले पनि आफू डाक्टरको सल्लाहअनुसार भोकल रेस्टमै छिन् । 

“अब गीतमै करिअर खोज्दै छु । त्यसैले अब यसमै कसरी राम्रो गर्ने सोच्दै छु,” उनी भन्छिन्, “सुरुवाती चरणमा दर्शक स्रोताले माया गरिदिनुभयो । संगीतको शिक्षा लिएर अगाडि बढ्ने सोचमा छु ।” एलिना चौहानको क्र्याक स्वर नै उनको सम्पत्ति हो । हाई र लो रेन्जमा उसको गलाको कमाल चल्दैन । तर मिडिल रेन्जमा लोभलाग्दो स्वर उनको सबल पक्ष हो । गायनमा क्र्याक स्वरलाई खासै राम्रो मानिँदैन तर एलिनाको हकमा सबैभन्दा धेरै उनको स्वर रुचाइनु नै त्यही क्र्याक स्वरमा रहेको क्र्याक हो । 

“भारतमा पनि अहिले क्र्याक स्वर रुचाइएको समय छ । नेहा कक्कडको स्वर क्र्याक स्वर हो,” वसन्त भन्छन्, “फरक फ्लेवर आउनु नै धेरैले उनको स्वर मन पराउनुको मुख्य कारण हो ।”
कभर गीत गाउँदा–गाउँदै उनले वसन्तको ‘साँचो माया गर्छु ख्याल ख्यालको होइन’ र योसँगै अरू दुइटा गीत एकैपटक रेकर्ड गरिन् । वसन्तको यो गीतमा उनले भनेजस्तो एलिनाको क्र्याक स्वर स्पष्ट अनुभूत गर्न सकिन्छ । अहिलेसम्म एलिनाले वसन्तसँग ६ वटा गीतमा काम गरिसकेकी छिन् । पछिल्लो समय लोकप्रिय बनेको गीत ‘के माया लाग्छ र ?’ एलिनाकै हो । 

एलिनाको स्वरमा करिब ५० वटा गीत रेकर्ड भएका छन् । त्यसमध्ये ३० वटा गीत चैतयता गाएकी हुन् । ‘के माया लाग्छ र ?’ पछि उनले छानी–छानी गीत रेकर्ड गर्न पाएकी छिन् । “चैतयता ३० वटाभन्दा धेरै गीत रेकर्ड गरेँ । दिनको यो निषेधाज्ञाअगाडि दिनको एउटाजस्तो गीत रेकर्ड गरिरहेको थिएँ,” एलिना भन्छिन्, “के माया लाग्छ र भन्दा अगाडि मेरा गीत १५ वटाजति मात्रै थिए होला ।”

वसन्तले भने जस्तो उनलाई संगीतको त्यति धेरै ज्ञान छैन भन्ने छ । त्यसैले एलिनाले संगीतको सुर र ताल केलाउन संगीतको कक्षा लिन सुरु गरेकी थिइन् । तर कोरोनाले त्यो अवसर खोसिदियो । अहिले युट्युबबाट सुरका टेक्निकहरू सिक्छिन् । स्टुडियोमै जान्नेहरूले सिकाइदिन्छन् । त्यसैले अब संगीतमै आफूलाई समर्पित गराउन सुरहरूलाई कण्ठ गर्ने सोच रहेको उनी सुनाउँछिन् । 

रचना रिमालले पनि पहिलो गीत वसन्त सापकोटाकै गाएकी छिन्, ‘रुमाल चिनो’ । त्यसपछि रचना पुगेकी हुन् जारी नेपाल आइडलको सिजन–३ मा सहभागी हुन । नेपाल आइडलमा सहभागी भएपछि उनी लाइमलाइटमा आउन सफल भएकी हुन् । टिपिकल नेपाली स्वर नै रचनाको सबैभन्दा राम्रो पक्ष हो । “भोकलमै नेपालीपन छ । उनको स्वर सुन्दा ४०÷५० वर्षअगाडि कुनै अब्बल नेपाली गायिकाको स्वर सुनेजस्तो लाग्छ,” वसन्त रचनाको सवल पक्ष केलाउँछन्, “हाई र लो दुवै रेन्जमा स्वर राम्रो खेल्न सक्नु र नेपालीपन सुनिनुले उनको भविष्य सांगीतिक क्षेत्रमा राम्रो छ भन्ने अनुमान लगाउन सकिन्छ ।” रचनाले वसन्तसँग पाँचवटा गीतमा काम गरिसकेकी छिन् । 

नेपाल आइडलबाट बाहिरिएपछि उनलाई गीत गाउन भ्याइनभ्याई छ । कोरोनाको त्रासका कारण चैत ११ गतेबाट देश लकडाउनमा गयो । सम्पूर्ण पेसा व्यवसाय ठप्प प्रायः भयो । तर रचनालाई गीत गाउनबाट फुर्सद छैन । “चैतयता ४० वटाभन्दा धेरै गीत रेकर्ड गरिसकेँ । अझै धेरै गीत गाउन बाँकी नै छ,” रचना भन्छिन्, “गीत गाउनका लागि दिनकै फोन आइरहेको हुन्छ ।” उनले सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ कमाइसकेकी छिन् । 

तीनैजना नेपाली सांगीतिक दुनियाँमा अहिले खुट्किलो उक्लिँदै गरेका गायिका हुन् । तर उनीहरू तीनै जनामा संगीतको शिक्षा आवश्यक रहेको वसन्तको अनुभव छ । “उनीहरूले जति पनि गाएका छन्, नेचुरल भोकलका कारण गाएका छन् । अब उनीहरूलाई आ–आफ्नो स्वरलाई थप परिष्कृत गर्दै जान गायनसँगै संगीतको ज्ञान लिन पनि आवश्यक छ । मैले व्यक्तिगत रूपमा पनि उनीहरू लाई सुझाव दिँदै आएको कुरा हो यो,” वसन्त भन्छन्, “पछिल्लो समय नसिकीकन भाइरल भइहाल्ने र सिक्नै पर्दैन भन्ने मानसिकता छ । यसबाट अलग रहेर गुणस्तरीय गीत छनोटमा पनि ध्यान पुर्‍याउनुपर्छ ।” – बारह्खरी