मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहार सुरु, आज काग पुजा

तिहार सुरु, आज काग पुजा


काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्र्तगत आज काग तिहार मनाइँदैछ। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । 

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो-मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ ।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । काग तिहार आज मनाइए पनि पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथी अनुसार यमदीप भने हिजोबाटै सुरु भएको छ ।

यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग तिहारसँगै आजै धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि मनाइँदैछ। तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । 

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । भोलि कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । 

अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन  छ ।  आइतबार बिहान  ११ः२७ बजेसम्म औँशी तिथि छ । 

त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ। मङ्सिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए । 

मङ्सिर १ गते सोमबार मह्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । 

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ । मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको समितिले जनाएको छ ।

शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरुहुन्छ ।