मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संकटमय वर्ष सन् २०२० का राम्रा खबर पनि छन्

संकटमय वर्ष सन् २०२० का राम्रा खबर पनि छन्


एजेन्सी । अधिकांश मानिसहरुलाई वर्ष २०२० जिवनकै सबैभन्दा नराम्रो समयका रुपमा याद रहनेछ । तर कोरोना महामारीले ल्याएको विश्वव्यापी संकटकाबीच यस वर्षका केही दुर्लभ खबरहरु हाम्रो हौसला बढाउने किसिमका पनि छन् । 
१– खोप

अहिलेका लागि सबैभन्दा खुसीको कुरा भनेकै कोरोना विरुद्ध प्रभावकारी खोप निर्माण गर्न सक्नु हो । भाइरस द्रुत गतिमा फैलिएसँगै विश्वव्यापी रुपमा यसको खोप बनाउने दौड पनि सुरु भएको थियो र इतिहासमा पहिलोपटक नयाँ भाइरसको खोप यति छोटो समयमा निर्माण गर्नुलाई मानवजगत्कै ठूलो सफलता मानिएको छ । खोपसँगै यसका विभिन्न उपचार विधिहरु पनि विकसित भइसकेका छन् भने खोप लगाउने काम अहिले धेरै मुलुकहरुमा जारी छ । यस्तोमा अब हामीले बिस्तारै पहिलेको अवस्थामा फर्किन सक्ने आशा बलियो बन्दै गएको छ । 

२– लकडाउनले दिलाएको सफा हावा 

२०२० मा अधिकतम मान्छेहरुले तुलनात्मक रुपमा अरु वर्ष भन्दा सफा हावामा सास फेरेका छन् । महामारी विरुद्ध लड्न जारी गरिएको लकडाउन र आर्थिक गतिविधि पनि ठप्प हुँदा यसले धेरै देशहरुमा वायु प्रदुषण कम गराएको छ । फेब्रुअरीमा नासाको स्याटलाइटबाट प्राप्त तस्बिरहरु हेर्दा कोरोनाको एपिसेन्टर वुहानमा मात्र सवारीसाधनबाट उत्पन्न हुने नाइट्रोजन डाअक्साइड ग्यासमा ठूलो गिरावट आएको देखिएको थियो । त्यस्तै संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले सार्वजानिक गरेको वार्षिक रिपोर्टमा पनि औद्योगिक क्रियाकलाप, हवाइ उडान र सवारी साधनको प्रयोग कम हुनुले २०२० मा ७ प्रतिशत कार्बन उत्सर्जन कम गराएको पाइएको छ । 

३– साइकलको उदय 

स्वास्थ्यका लागि पनि राम्रो, पृथ्वीका लागि पनि राम्रो मानिने साइकल २०२० मा धेरै प्रचलनमा आयो । विशेषगरी फ्रान्स लगायत युरोपेली मुलुकहरुमा यस वर्ष साइकलको प्रयोग अत्याधिक बढेको छ । सार्वजानिक सवारी सिमित गराइएपछि मानिसहरु साइकलमा अफिस जान थालेका हुन् । केही ठुला फ्रेन्च शहरमा त साइकल प्रयोग गर्नेको सङ्ख्या यस वर्ष २०० प्रतिशतले वृद्धि भएको पाइएको छ । त्यस्तै महामारीको अवधिभर नेदरल्यान्डमा साइकलको कारोबार अचानक आकाशिन पुगेको हो जसलाई सुरुवातमा ट्वाइलेट पेपरको विक्रीसँग तुलना गरिएको छ । उता बेल्जियममा पनि साइकलको प्रयोग ६९ प्रतिशतले बढेको गुगल म्याप्सको तथ्याङ्कले देखाउँछ । लन्डनमा पनि साइकलिङ यति प्रचलित भयो कि मेयर सिद्धिक खानले राजधानीमा अब साइकल हिँड्ने बाटोको सङ्ख्या चार गुणाले बढाउने वचन दिएका छन् । 

४– अफ्रिकी महादेशमा पोलियोमुक्त

पूरै विश्वको ध्यान कोरोना भाइरसले निम्त्याएको संकटतर्फ रहेका बेलामा अफ्रिकाले वर्षौँदेखि जारी पोलियो विरुद्धको लडाइँ चुपचाप जितेको छ । अगस्ट २५ मा विश्व स्वास्थ्य संगठनले अफ्रिकालाई आधिकारिक रुपमा पोलियोमुक्त भएको घोषणा गरेको हो । यसबारे डब्लूएचओका डिरेक्टर–जेनेरल डाक्टर टेड्रोसले भनेका छन्, “अफ्रिकाबाट पोलियो हटाउनु भनेको हाम्रो समयकै सबैभन्दा ठूलो सार्वजानिक स्वास्थ्य उपलब्धि हो र यो सबैका निम्ति शक्तिशाली प्रेरणा बन्नेछ । ” अफ्रिकामा वार्षिक ७५ हजार भन्दा धेरै बालबालिका पोलियो भाइरसका कारण प्यारलाइज्ड हुने गरेका थिए । 

५– लोपोन्मुख प्रजातिहरुका लागि खुसीको खबर 

यस वर्ष लोप हुने जोखिममा रहेका केही दुर्लभ जीवजन्तुहरु सम्बन्धी उत्साहपूर्ण खबरहरु प्राप्त भएका छन् । कोरोना महामारी जङ्गली जीवजन्तुसँग मान्छेको बढ्दो सम्पर्कको नतिजा भएको बताइएपछि चीनमा परम्परागत् औषधि मानेर उपभोग गर्ने गरिएका जङ्गली जीवजन्तुहरुको व्यापारमा रोक लगाइएको छ । त्यस्तै प्रकृति संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय युनियनले यस वर्ष अति जोखिममा रहेका अफ्रिकी गैँडाको प्रजातिको सङ्ख्यामा ठूलो सुधार आएको जानकारी दिएको छ । यता अष्ट्रेलिया अनि फ्रान्समा लोप भइसकेको ठहर गरिएका जीवहरु पहिलोपटक फेला परेका हुन् । कम्बोडियामा चाहिँ हात्ती चढ्नमाथि प्रतिबन्ध लगाइएको छ भने इजिप्टले उँट सवारी निषेध गरेको हो ।