मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको स्वास्थ्य क्षेत्रमा सन् २०२० मा के भयो ?

नेपालको स्वास्थ्य क्षेत्रमा सन् २०२० मा के भयो ?


काठमाडौं । सन् २०२० मा कोरोना महामारीले विश्वका अरु मुलुकहरुझैँ नेपाललाई पनि शिथिल बनायो । जनवरीको दोस्रो साता नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । सेप्टेम्बरको अन्तिम साताबाट तीव्ररुपमा फैलियो ।

अक्टोबरको पहिलो सातादेखि मृत्युदर बढ्न थाल्यो । नोभेम्बर पहिलो साता संक्रमणदर घटे पनि मृत्युदर बढेर गयो । सरकारले प्रशस्त आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न नसक्दा निको हुनसक्ने संक्रमणका बिरामीले समेत ज्यान गुमाउन पुगे ।

अक्टोबरको अन्तिम सातादेखि डिसेम्बर पहिलो सातासम्म कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या धेरै रह्यो । डिसेम्बर अन्तिमसम्ममा एक हजार ८५६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए भने दुई लाख ६० हजार ५९३ जना संक्रमित भए ।

जिम्मेवारी हेरफेरले गाँजिएको मन्त्रालय

सन् २०१९ को अन्त्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका भानुभक्त ढकालको कार्यकाल एक वर्ष पनि टिक्न सकेन । योबीचमा स्वास्थ्य सामग्री खरिद गर्नेक्रममा अनियमितता भएको ओम्नी प्रकरण ढकाल कार्यकालको पेचिलो मुद्दा बन्यो ।

मन्त्री ढकाल विवादास्पद भएरै कार्यकाल चलाइरहे पनि दुई सचिवको हेरफेर भयो । मन्त्री ढकाल विशेषज्ञ चिकित्सकलाई समेत मन्त्रालय तानेर थप विवादको पात्र बन्न पुगे । अन्ततः वर्षको अन्त्यमा आइपुग्दा मन्त्रीको जिम्मेवारी हेरफेर भयो र नयाँ मन्त्रीको रुपमा हृदयेश त्रिपाठी नियुक्त भए ।

महामारीले ठप्प बनेको स्वास्थ्यका योजना 

कोरोना महामारीका कारण आर्थिक वर्ष ०७६÷७७ का लागि तय गरिएका अधिकांश योजना अधुरै रहे । सन् २०२० का लागि कुनै पनि नयाँ योजना तय हुनसकेन । एक विद्यालय एक नर्स कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम, हब र स्याटेलाइट अस्पताल विस्तारलगायतका कार्यक्रमहरु थप विस्तार हुन पाएनन् । सबै पालिकामा विशेषज्ञ सेवा पुर्‍याउने सरकारको योजनाले समेत सन् २०२० मा साकार रुप पाउन सकेन ।

स्वास्थ्यकर्मी वर्षैभरि असन्तुष्ट 

सन् २०२० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै मातहतका कर्मचारीलाई समेत सन्तुष्ट बनाउन सकेन । कोरोना महामारीको समयमा सेवामा अनिवार्य उपस्थितिको उर्दी गरेको सरकारले उनीहरुको सेवा–सुविधामा ध्यान दिन सकेन ।

कोरोनाकालमा काम गर्ने कर्मचारीलाई कोभिड भत्ताको घोषणा गरे पनि कार्यान्वयनमा सरकार चुकेको देखियो । भत्ता नपाएका ७० प्रतिशत स्वास्थ्यकर्मीको असन्तुष्टि सडकमा पोखियो । वर्षको अन्तिमसम्म पनि सरकार र स्वास्थ्यकर्मीबीचको वार्ता सफल हुनसकेको छैन ।

महामारीका बीच केही आशलाग्दा प्रयासहरु 

कोरोना महामारीले खड्काएको आवश्यकताले पनि नेपालको स्वास्थ्य क्षेत्रमा केही नयाँ कामको थालनी भयो । संक्रमणदर धेरै भए पनि मृत्युदर कम हुँदा कोरोना नियन्त्रणमा सफल हुनेमा दक्षिण एसियाली मुलुकहरुमध्ये नेपाल तेस्रो नम्बरमा परेको छ ।

सन् २०२० मा नै सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल पुर्‍याउने योजनाका साथ काम सुरु गर्‍यो । यहीक्रममा मुलुकभर थप मुलुकभर ३९६ आधारभूत अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास गरियो । अर्थिक वर्ष ०७७–७८ मा सम्पन्न गर्नेगरी पाँच, १० र १५ शय्याका अस्पताल निर्माणमा अहिले सरकार जुटेको छ ।

त्यस्तै, डेढ वर्षदेखि थाती रहेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनको नियमावलीसमेत पारित भएको छ । योसँगै महिला स्वास्थ्य अधिकारको क्षेत्रमा केही राहत थपिएको महसुस भएको छ ।

नयाँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएसँगै राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम तथा पहाडी जिल्लाबाट हेलिकोप्टरमा उद्धार गरिएका महिलाहरुलाई यातायात खर्चबापत् थप २० हजार रुपैयाँ दिने निर्णय भएको छ । यसलाई समेत सन् २०२० मा स्वास्थ्य क्षेत्रमा भएको नयाँ उपलब्धिको रुपमा लिन सकिन्छ । – बारह्खरी