मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन् २०२० सँगै अस्ताएका केही चर्चित अनुहार

सन् २०२० सँगै अस्ताएका केही चर्चित अनुहार


काठमाडौं । वर्ष २०२० अन्त्य भएको छ । गएको वर्ष संसारभर एउटा ऐतिहासिक घटनाहरुका लागि परिचित हुनेछ । कोरोना महामारीको कहरबीच सुरु भएको सन् २०२० खासै कुनै पनि क्षेत्रलाई फलदायी रहन सकेन ।

कोरोना महामारीका कारण विश्वभरिका लाखौं मानिसहरुको निधन भयो । यस्तैमा कोरोना वा अन्य कारण पनि बलिउड चलचित्र उद्योगले आफ्ना धेरै दिग्गज कलाकार, संगीतकार तथा कोरियाग्राफरहरु गुमाएका छन् । यो वर्ष संसार छाडेर गएका धेरै भारतीय स्टारहरुमध्ये केही निम्‍नानुसार छन् :

निम्मी
No description available.
हिन्दी चलचित्रको सुनौलो ५०-६० दशककी अभिनेत्री नवाब बानो उर्फ निम्मीले २५ मार्च २०२० मा संसार त्यागिन् । उनलाई शोमैन राज कपुरले चलचित्रको पर्दामा ल्याएका थिए । चलचत्रिको पर्दामा ल्यानकै लागि कपुरले उनको नाम नवाब बानोबाट निम्मी राखेका थिए । 

निम्मीले बरसात, दिदार, दाग, आन, उडनखटोला, कुन्दन, भाइ-भाइ र वसन्त बहारजस्ता ठूला चलचित्रमा खेल्ने मौका पाएकी थिइन् ।
 
इरफान खान
No description available.
पद्मश्री पुरस्कार विजेता र बलिउडका उत्कृष्ट प्रतिभामध्ये एक, अभिनेता इरफान खानको अप्रिल २९ मा निधन भयो । आमा सइदा बेगमको निधनको चार दिनपछि नै इरफानले पनि संसार छाडेका थिए ।

पछिल्लो दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका इरफान खानलाई पछिल्लो समय कोलोन इन्फेक्सन भएको थियो । अप्रिल २८ मा कोलोन इन्फेक्सनकै कारण श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा निधन भएको हो । 

सन् १९८८ मा ‘सलाम बम्बे’ बाट करियर सुरु गरेका उनले आफ्नो अभिनय क्षमताले हिन्दी र हलिउडमा समेत छुट्टै स्थान बनाउन सफल भएका छन् । 

हिट चलचित्र ‘अंग्रेजी मिडियम’ उनको अन्तिम चलचित्र बन्न पुग्यो । बलिउडदेखि अमेरिकन चलचित्रमा पनि आफ्नो अभिनयको जादुयी झन्डा गाड्न सफल उनको ‘स्लमडग मिलिनियर’, ‘लाइफ अफ पाई’ र जुरासिक पार्क’ ती अन्तर्राष्ट्रिय चर्चित चलचित्रहरु हुन् । 

टेलिभिजन पर्दाबाट अभिनय यात्रा सुरु गरेका उनले बलिउडदेखि हलिउडसम्म पनि आफ्नो अब्बल अभिनय क्षमताको झन्डा गाड्न सफल बनेका थिए । अभिनयको करिब ३० वर्षे यात्रामा इरफानले ५० भन्दा बढी हिन्दी, ब्रिटिस र हलिउड चलचित्रमा अभिनय गरेका थिए । 

‘लाइफ इन अ मेट्रो’, ‘द लन्चबक्स’, ‘हैदर’ ‘पिकु’, ‘हिन्दी मिडियम’ उनका चर्चित बलिउड चलचित्रहरु हुन् । 

ऋषि कपुर
No description available.
अभिनेता इरफान खानको निधनको शोकबाट निस्किन नपाउँदै बलिउडले अर्का  दिग्गज कलाकार गुमाउनुपर्‍यो ।
 
इरफान खानको निधनको भोलिपल्टै (अप्रिल ३०) अभिनेता ऋषि कपुरको निधन भएको हो । ६७ वर्षीय कपुरको मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको थियो । अभिनेता ऋषि कपुर पनि पछिल्लो केही वर्षदेखि क्यानसरसँग जुधिरहेका थिए ।

सन् २०१८ मा ल्युकेमिया डिटेक्ट भएर न्युयोर्कमा सफल उपचारको एक वर्षपछि ६७ वर्षको उमेरमा ऋषिको निधन भएको हो । 

सन् १९७३ देखि अभिनय यात्रामा प्रवेश गरेका उनले सन् २००० सम्म ३६ वटा हिट चलचित्र दिएका थिए । भने उनले जम्मा ९२ वटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका थिए । ऋषि कपुर अभिनीत अन्तिम चलचित्र ‘शर्माजी नमकिन’ रिलिज हुन बाँकी नै छ । 

वाजिद खान 
No description available.
बलिउड गायक तथा संगीतकार वाजिद खानको जुन १ मा निधन भएको थियो । ४७ वर्षीय वाजिदको हृदयाघातका कारण निधन हो । सुराणा सेठिया अस्पतालमा घाँटीको इन्फेक्सनको उपचारका क्रममा उनको निधन भएको थियो । 

वाजिदको गत वर्ष मात्रै मिर्गौलाको सफल प्रत्यारोपण गराएको थियो । 

उनले भाइ साजिद खानसँग मिलेर सलमान खानको चलचित्र ‘प्यार किया तो डरना क्या’ बाट संगीतकारका रुपमा पाइला टेकेका थिए । वाजिदको अन्तिम काम पनि सलमानसँगकै सहकार्यमा भएको थियो । लकडाउनमै तयार भएको सलमानको गीत ‘भाइ भाइ’ वाजिदको अन्तिम कम्पोजर बन्यो ।
 
वाजिदको चर्चित कम्पोजरमध्ये सलमान अभिनित चलचित्र वान्टेडबाट ‘मेरा ही जल्वा’ र दबंग २ बाट ‘फेबिकोल से’का साथै अक्षय अभिनीत राउडी राठौरबाट ‘चिन्ता ता चिता चिता’ रहेका छन् । 

वासु चटर्जी
No description available.
९३ वर्षीय चिरपरिचित चलचित्र निर्देशक वासु चटर्जीको ४ जुन २०२० मा निधन भएको हो । उनी दुईपटक राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका थिए । वासुले ७०-८० दशकमा मध्यम वर्गीय परिवार परिवारलाई केन्द्रमा राखेर राम्रा कथा दर्शकलाई पेस गरेका थिए ।

जसमा रजनीगन्धा, पियाका घर, चितचोर, छोटी-सी बात, स्वामी, खट्टा–मिठा, बातों–बातों मे, चमेली की शादी, मनपसंद र अपने–पराये जस्ता चलचित्रको निर्देशन गरेका थिए । 

सुशान्तसिंह राजपुत
No description available.
एकपछि अर्को परिवार गुमाएको शोकबाट विस्तारै बाहिर निस्किरहेको बलिउड र बलिउड प्रेमीलाई १४ जुनले पुन: शोकमा डुबायो । चर्चित अभिनेता सुशान्तसिंह राजपुतले बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिए ।

सन् २०१० मा टेलिभिजनको पर्दाबाट अभिनय यात्रा सुरु गरेका सुशान्तले छोटो समयमै बलिउडमा आफनो अभिनय र नम्र व्यवहारले सफल अभिनेताका रुपमा ख्याति कमाएका थिए ।

नीरज पाण्डेको बायोपिक चलचित्र ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ले उनलाई चलचित्र उद्योगमा स्टारको दर्जा दिएको हो । सुशान्तको मृत्युसँगै बलिउडमा पुनः एकपटक नेपोटिजमको विषयमा बहस चल्यो । 

ब्याकअप डान्सरका रुपमा मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका सुशान्तले ‘किस देश मे है मेरा दिल’बाट टेलिभिजन श्रृङ्खलमा ब्रेक पाएका थिए । भने उनलाई अर्को श्रृङ्खला ‘पवित्र रिश्ता’ले बलिउड प्रवेशको बाटो खोलिदिएको थियो । 

सुशान्तलाई बलिउडमा ब्रेक दिने चलचित्र ‘काई पो चे’ थियो । ‘डिटेक्टिभ ब्योमकेश बक्सी’, ‘एमएस धोनीः द अन्टोल्ड स्टोरी’, ‘छिछोरे’, ‘केदारनाथ’, ‘शुद्ध देशी रोमान्स’ सुशान्तको मुख्य भूमिका रहेका हिट चलचित्रहरु हुन् ।
 
सुशान्त अभिनीत अन्तिम चलचित्र ‘दिल बेचारा’ जुलाई २४ मा अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भयो । सुशान्तको मृत्युको रहस्य पत्ता लगाउन सीबीआई अझै अनुसन्धानमै लागिरहेको छ । 

सरोज खान
No description available.
बलिउडका प्रथम र दिग्गज कोरियोग्राफर सरोज खानको ३ जुलाई २०२० मा निधन भएको थियो । ७१ वर्षीय उनको हृदयाघातका कारण निधन भएको हो । 

बाल कलाकारका रुपमा बलिउड प्रवेश गरेकी सरोजले सन् १९५० को दशकमा विमल रोयको मधुमति चलचित्रबाट बी. सोहनलको नृत्य निर्देशनमा ब्याकग्राउन्ड डान्सरका रुपमा प्रवेश गरेकी थिइन् । 

त्यसपश्चात उनले सहायक कोरियोग्राफरका रुपमा काम गर्न थालिन् । चलचित्र ‘गीता मेरा नाम’ बाट स्वतन्त्र कोरियाग्राफरका रुपमा पहिलो ब्रेक उनले पाएकी थिइन् ।

उनले मिस्टर इन्डिया चलचित्रको ‘हवा हवाई’ गीतबाट चर्चाको पहिलो खुड्किलो टेकेकी थिइन् । उनको कोरियोग्राफीमा ननाचेका बलिउड कलाकारहरु सम्भवत: छैनन् होला ।

६६ वर्षीय करियरमा थुप्रै नाम चलेको कलाकारलाई आफ्नो कोरियाग्राफीमा नचाएका छन्, जसमा माधुरी दीक्षित, श्रीदेवी, ऐश्वर्या राय बच्चन, करिना कपुर, सलमान खान र शाहरुख खान पर्छन् । तर पनि श्रीदेवी अझ त माधुरीसँगको सहकार्यले सरोज र माधुरी दुवैलाई करियरको उचाइमा पुर्‍याउन थप मद्दत पुगेको थियो । 

बलिउडमा उनलाई मास्टरजी भनेर सम्बोधन गर्ने गरिन्थ्यो । उनलाई देवदास चलचित्रको गीत ‘डोला रे डोला’ र जब वी मेट को गीत ‘ये इश्क हाए’ का लागि राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । 

जगदीप
No description available.
‘शोले’ चलचित्रको चर्चित पात्र सूरमा भोपालीको भूमिका निभाएका प्रसिद्ध कलाकार जगदीपको ८ जुलाईमा निधन भएको हो । उनको निधन हुँदा उनी ८१ वर्षका थिए । 

करिब ७० वर्षिय चलचित्रको करियरमा जगदीपले थुप्रै यादगार भूमिकाहरु निभाएका छन् । तर सुरमा भोपाली पात्रका लागि भने उनलाई वर्षौंसम्म याद गरियो । उनलाई हास्य कलाकारका रुपमा चिनिन्छ । 

उनले करिब ४०० चलचित्रमा अभिनय गरेका छन् । जसमा मुन्ना, आरपार, दो बिघा जमिन, ब्रह्‍मचारी, भाभी, दो भाइ, खिलौना, रोटी, अपना देश र अन्दाज हुन् । 

कुमकुम
No description available.
५०-६० दशककी अभिनेत्री कुमकुमको २८ जुलाई २०२० मा मुम्बईमा निधन भयो । उनलाई दिग्गज निर्देशक गुरु दत्तले यो इन्डस्ट्रीमा ल्याएका हुन् । 

उनको मृत्युको खबर जगदीपका कान्छा छोरा नावेद जाफरीले सामाजिक सन्जालमा दिएका थिए । कुमकुमको चर्चित चलचित्रहरुमा प्यासा, बारिस, आर-पार, मिर्जा गालिब, उजाला, कोहिनूर, मिस्टर एक्स इन बम्बे, मदर इन्डिया, नयाँ दौर र सीआईडीलगायत छन् । 

एसपी बालासुब्रमण्यम
No description available.
पद्मभूषण पुरस्कारबाट सम्मानित गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भयो । पोस्ट कोरोनाको जटिलताका कारण उनको २५ सेप्टेम्बर २०२० मा निधन भएको हो ।

सांगीतिक संसारमा सबैभन्दा प्रख्यात सूचीमा पर्ने गायक एसपीले ४० हजारभन्दा बढी गीत गाएका छन् । उनले तमिल, तेलुगु, कन्नड र हिन्दी भाषामा गीत गाएका छन् । 

सलमान खान अभिनीत धेरैजसो चलचित्रमा गीत गाउने उनलाई सलमान खानको आवाजका रुपमा पनि चिनिन्छ । उनलाई ६ पटक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो । 

चलचित्र मैंने प्यार किया र हम आपके हैं कौन का गीतहरुका साथै देखा है पहली बार र बहुत प्यार करते हैं तुमको सनमलगायत गीतहरु हिट गीतमा गनिन्छन् । 
-बीबीसी हिन्दी