मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाण्डौ – विभिन्न कार्यक्रम गरी आज विश्व सिमसार दिवस मनाइँदै छ । यो वर्ष ‘सिमसार र पानी’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो ।

सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउँदै आएको छ। सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो ।

यो महासन्धिमा १६९ देशहरु सामेल भएका थिए । नेपाल भने औपचारिक रुपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो । विश्वसूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् ।

कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शे-फोक्सुन्डो ताल, माइपोखरी अनि पोखरा नगरीका नौ वटै तालहरु सिमसार क्षेत्रमा रहेका छन् । 

पुराना अध्ययनहरुले नेपालमा ठूला–साना गरी ४ हजारभन्दा धेरै सिमसार क्षेत्रहरु रहेका छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्त्व आत्मसाथ गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दिएको थियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो ।

यस्तै राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । 

हरेक वर्ष दिवस मनाउने र जतचेतनामूलक कार्यक्रमहरु गरिए पनि प्राकृतिक सम्पदाका रुपमा रहेका सिमसार क्षेत्रलाई अतिक्रमणबाट जोगाउन भने सकिएको छैन । मानवीय विकास क्रम अनि पूर्वाधारहरुको अविवेकी विकासक्रमले नेपालमा सिमसारक्षेत्र नासिने क्रममा रहेका छन् ।

पछिल्लो समय उदयपुरको त्रियुगा उपत्यका र आसपासका भूभागमा प्राकृतिक सिमसार क्षेत्रका रुपमा रहेका कतिपय ताल, तलैया र पोखरीहरु अतिक्रमण भएपछि यस क्षेत्रको जैविक विविधताको अस्तित्वसमेत संकटमा परेको छ । 

सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको ठाउँ हो । जुन ठाउँ ओसिलो र धापिलो हुन्छ ।