मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस वर्षको मनसुन कस्तो रहला ?

यस वर्षको मनसुन कस्तो रहला ?


काठमाडौँ । प्रायः अंग्रेजी महिनाका मार्चदेखि सुरु हुने प्रिमनसुन मे महिनासम्म रहन्छ । हिजो आज मुलुकभर विभिन्न ठाउँमा परिरहेको पानी त्यही प्रिमनसुन हो । तर कृषकले कुरेर बसिरहेको मनसुन १३ जुनसम्ममा भित्रिने मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।  

मौसमविद् बरुण पौडेलकाअनुसार महाशाखाले मनसुनी वायुलाई नियमित अनुगमन गरिरहेको जानकारी दिए । उनले भने, “नेपालमा वर्षा गराउने मनसुन वायु बङ्गालको खाडीमा आइसकेको छ । पूर्वी नेपालबाट वायु प्रवेश गरी मुलुकभर पानी पर्नेछ । दुई तीन दिनभित्रमा मनसुन आइपुग्ने अनुमान छ ।”

औसतमा नेपालमा १५ सय मिलिलिटर पानी पर्ने गर्दछ । तर यसपटक वर्षा धेरै हुने मौसमविद्ले संकेत दिइसकेका छन् । धेरैजसो भुभागमा वर्षा सरदरभन्दा धेरै हुने बताइएको छ भने वर्षाको सम्भावना स्थानअनुसार फरक छ ।  यो सरदरभन्दा बढी हो ।

जल तथा मौसम विज्ञान विभागकी जलवायु विश्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले पहिलोपटक सन् १९८१ देखि सन् २०१० सम्म गरी ३० वर्षको मौसम आगनमन र बर्हिगमनको तथ्यांक अध्ययन गरी रिपोर्ट तयार पारेको बताइन् । उनले भनिन्, “त्यही अपडेटका आधारमा यस वर्ष कहाँ-कहाँ कति प्रतिशत वर्षा हुन सक्ने आँकलन गरेका छौँ ।”

विभागले पहिलोपटक ३ दशकको मौसको गतिविधि अध्ययन गरी रिपोर्ट तयार पारेको हो । यद्यपि यस्तो रिपोर्ट १०/१० वर्षमा राख्नुपर्ने हुन्छ । लामो समयदेखि ऋतुगत मौसमको अनुमान र अनुगमन गरिहेकी उनले भने नेपालले पहिलोपटक यस्तो रिपोर्ट तयार पारेको खुलासा गरिन् ।

उक्त रिपोर्टअनुसार यस वर्षको मनसुनमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदेशका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । यी क्षेत्रमा ३५ देखि ६५ प्रतिशत वर्षा हुने आंकलन छ । त्यसैगरी लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भूभागमा सरदर वर्षा ३५ देखि ४५ प्रतिशत हुने, प्रदेश १ को तराई र प्रदेश नं २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ अनुमान गरिएको छ । यस्तै, उत्तरी भुभाग, हिमाली भागहरूमा ५५ देखि ६५ प्रतिशत बढी पानी पर्ने सम्भावना छ ।

यस्तै, प्रदेश नं १ र २ तथा वाग्मती प्रदेशको केही भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने तथा परासी, नवलपुर, पाल्पाका केही भूभागमाबाहेक देशका अन्य भूभागमा सरदरभन्दा कम तापक्रम हुने विभागले जनाएको छ । प्रदेश नं १ र २ को पूर्वी भाग, गण्डकी, सुदुरपश्चिम प्रदेशको अधिकांश भागमा न्यूनतम तापक्रम सदरदभन्दा बढी र लुम्बिनी प्रदेशको तराई क्षेत्र बाहेकमा सरदरभन्दा कम तापक्रम हुने अनुमान विभागले गरेको हो ।

साधाणतया १३ जुनमा मनसुन भित्रिने र २ अक्टोबरमा मनसुन बर्हिगमन हुने देखिन्छ । विज्ञहरूको अनुसार मनसुन पछाडि धकेलिएको हो । विगतमा ३ जुनमा मनसुन सुरु भइसक्थ्यो । अहिले लम्बिएर १० जुन र पछिल्लो समय त्यो पनि सरेर १३ जुनमा पुगेको डा कँडेल बताउँछिन् । मनसुन बहिर्गमन २३ सेप्टेम्बरमा हुनुपर्नेमा २ अक्टोबरमा हुने विज्ञहरूले आँकलन गरेका छन् । यस्तै, १०५ दिनको मनसुन लम्बिएर १११ दिन पुगेको छ ।

वैशाखको दोस्रो साता दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको भर्चुअल बैठक भएको थियो । सो बैठकमा आगामी मनसुन अवधि (जुन देखि सेप्टेम्बर) ऋतुगत हावापनी आँकलन गरिएको थियो । विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायू सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र मञ्चको आँकलनको आधारमा उक्त निष्कर्ष निकाली सार्वजनिक गरेको हो । बैठकमा नेपाल, भारत, म्यान्मारलगायत ९ देशका मौसमविद् सहभागी थिए ।

विभागले वर्षाको अनुमान सरदर भन्दा कम, सरदर र सरदरभन्दा बढी गरी ३ भागमा विभाजित गरी आँकलन प्रस्तुत गर्ने गर्दछ । डा कँडेल भन्छिन्, “यसको मतलब यति प्रतिशत पानी पर्छ भन्ने होइन, यो अनुमान मात्र हो । यही नहुन नि सक्छ । थोरै पर्छ भनेको ठाउँमा धेरै पर्न पनि सक्छ र धेरै भनेकोमा थोरै ।”

साधारणतया ५० मिलिटरभन्दा बढी वर्षा भयो भने बाढी पहिरोको जोखिम बढ्छ । अहिले कोभिडको अवस्थाले गर्दा विपत व्यवस्थापनमा चुनौती बढेको छ । तराई डुबान, पहाडमा पहिरो हाम्रो लागि नयाँ होइन । वर्षा धेरै हुने भन्ने बित्तिकै पहिरो, बाढी र डुबानबाट  बच्न अहिल्यै तयारी अवस्थामा रहन विभागले मनसुन आपतकालीन योजना २०७८ जारी गरिसकेको छ ।

बाढी र पहिरो बारे तुरुन्त जानकारी दिन सामाजिक सञ्जालमा फ्ल्ड अलर्ट (नेपाल बाढी सूचना) सक्रिए बनाएको छ । बाढीबारे रियल टाइममै जानकारी दिने विभागले जनाएको छ । यसको लागि प्रभावित क्षेत्रमा एसएमएम, रेडियो तथा सामाजिक सञ्जालमा बुलेटिन दिने, बाढी पूर्वानुमानका लागि ११५५ टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । – बारह्खरी