मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नम्बर–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव छ । हाल देशको दक्षिणी भू–भागनजिक मनसुनी न्यूनचापीय रेखा रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।

हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा र वाग्मती, प्रदेश नम्बर–५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरेखोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।