मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के खास छ विद्या बालनमा?

के खास छ विद्या बालनमा?


जब अभिनेत्री विद्या बालनको प्रसंग आउँछ, ‘परिणीता’, ‘कहानी’, ‘द डर्टी पिक्चर’, ‘मिशन मंगल’ र ‘शकुंतला देवी’ जस्ता महिलाप्रधान फिल्म हाम्रो मस्तिष्कमा आइहाल्छ। जहाँ उनले आफ्नो अभिनयमार्फत गहिरो छाप छोड्न सफल भइन्। जसले उनलाई बलिउडमा ‘अफबिट अभिनेत्री’को परिचय दिलायो। जसरी हरेक पटक उनको फिल्मले सफलताको नयाँ रेकर्ड बनायो।

करिब दुई दशकदेखि फिल्ममा फरक फरक पात्र निभाइरहेकी विद्या बालन भन्छिन्, ‘उनी त्यस्तो कथा र पात्रमा मात्रै काम गर्छिन्, जसले उनलाई छुन्छ, अनि जसलाई सुनेपछि ‘नाइँ’ भन्न मन लाग्दैन। उनलाई महिलाप्रधान फिल्मको हिस्सा बन्नमा कुनै आपत्ति छैन किनभने उनलाई फिल्मको ‘हिरो’ बन्न मन लाग्छ। 

विद्या बालनले सन् १९९० को दशकमा चर्चित कमेडी सिरियल ‘हम पाँच’मा राधिकाको भूमिका निर्वाह गर्दै आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि आमाबुबाको सुझावअनुसार उच्च शिक्षाका निम्ति उनले केही समय अभिनयबाट विश्राम लिइन्। अनि पढाइ सकिनासाथ पुनः फिल्मको अभिनयतिर आफ्नो पाइला बढाइन्। 

दक्षिण भारतीय र बंगाली सिनेमामा काम गरिसकेपछि उनले प्रदीप सरकारको फिल्म ‘परिणीता’मार्फत हिन्दी फिल्मको यात्रा सुरु गरिन्। शरतचन्द्र चट्टोपाध्यायको परिणीता उपन्यासमा आधारित सन् २००५ को यो फिल्ममा विद्या बालन, संजय दत्त र सैफ अली खान एकसाथ देखापरेका थिए। फिल्मले समीक्षक र दर्शकबाट वाहवाही त बटुल्यो नै, सँगसँगै यही फिल्मबाट विद्याले डेब्यू अवार्ड पनि जित्न सफल भइन्। 

‘डर्टी पिक्चर’को चर्चा 

‘परिणीता’ फिल्मको सफलतापछि विद्या बालन केही ठूला फिल्मको हिस्सा बनिन्। चाहे त्यो ‘भूलभुलैया’मा भूतिया चरित्र, अमिताभ बच्चनको बहुचर्चित फिल्म ‘पा’मा डाक्टर, विशाल भारद्धाजको ‘इश्किया’मा कृष्णा या ‘लगे रहो मुन्ना भाइ’मा जाह्नवीको भूमिका नै किन नहोस्। 

सन् २०११ म विद्याका दुई फिल्म रिलिज भए। ‘नो वन किल्ड जेसिका’ त्यसमध्ये एक हो, जहाँ उनको अभिनयको निकै प्रशंसा भयो। त्यस्तै वर्षको अन्त्यतिर सिल्क स्मिताको जीवनमा आधारित रहेको बनेको फिल्म ‘डर्टी पिक्चर’ रिलिज भयो, जसले बक्स अफिसमा रेकर्ड मात्रै तोडेन, विद्या बालनलाई फिल्म इन्डष्ट्रीमा नयाँ उचाइ पनि दिलायो। यही फिल्मबाट उनले राष्ट्रिय पुरस्कार पनि पाइन्। 

‘डर्टी पिक्चर’का निर्देशक मिलन लुथरियाले यो फिल्म बनाउनुको कारणबारे भनेका थिए, ‘म भावनात्मक रुपमा यो फिल्मको कथासँग जोडिएको छु। सबै मलाई पुरुषप्रधान फिल्ममात्रै किन भन्ने प्रश्नले हैरान भइसकेको थिएँ, त्यसकारण पनि म महिलाप्रधान फिल्म बनाउन चाहन्थेँ।’

उनी भन्छन्, ‘कोही यो कथा भन्न चाहँदैनथ्यो। मान्छेहरु भन्थे, फिल्मको टाइटल राम्रो छैन, फिल्मको कास्टिङ राम्रो भएन, यो अश्लिल फिल्म हो। यो फिल्मका लागि कसैले हामीलाई प्रोत्साहित गरेन। सबैले नबनाऊ मात्र भने। तैपनि हामीले बनायौँ। जसमा मलाई निकै गर्व छ र अन्त्यमा फिल्मलाई तीनवटा राष्ट्रिय पुरस्कार मिल्यो।’

मिलन लुथरिया खुशी छन् कि ‘डर्टी पिक्चर’ फिल्मकै कारण विद्या उनको जीवनमा आइन्। उनी विद्यालाई महान् कलाकार मान्छन्, चाहे त्यो बायोपिक फिल्ममा होस् या काल्पनिक। 

‘डर्टी पिक्चर’मा विद्याको कामलाई लिएर फिल्म इतिहासकार एस एम एम औसजा भन्छन्, ‘डर्टी पिक्चरमा उनको उत्कृष्ट अभिनय थियो। निकै कठिन चरित्र थियो। यस्तो जटिल र निडर चरित्र निभाउन गाह्रो हुन्छ। कोही पनि शिर्ष अभिनेत्रीका लागि यो पात्र निभाउन सजिलो छैन। तर, विद्याले जे गरिन्, त्यो असामान्य थियो।’

‘कहानी’

‘डर्टी पिक्चर’ रिलिज भएको केही महिनापछि सन् २०१२ मा विद्याको सुजोय घोष निर्देशित नयाँ फिल्म आयो, ‘कहानी’। फिल्म निकै सफल भयो। दुवै फिल्मले ७० देखि ८० करोड कमाए, जुन महिलाप्रधान फिल्मका हकमा साँच्चै धेरै थियो। 

फिल्म इतिहासकार एसएमएम औसजालाई लाग्छ, ‘डर्टी पिक्चर’ र ‘कहानी’मा विद्याको भूमिका निकै फरक थियो तैपनि दुवै फिल्मको भार उनले आफ्नो काँधमा सहजै उठाइन्। ‘विद्याका लागि यो कुनै जुवाभन्दा कम थिएन। उनी असफल पनि हुन सक्थिन् तर भाग्यमानी रहिन्। उनी साँच्चै प्रतिभाशाली थिइन्, त्यसैले यो काम गरिन्।’

तुम्हारी सुलु

‘डर्टी पिक्चर’ र ‘कहानी’को सफलतापछि विदा बालनका केही अरु फिल्म पनि रिलिज भए तर त्यसरी कमाल गर्न सकेनन्, जसरी उनले अपेक्षा गरेकी थिइन्। यसको अलावा ‘बबी जासूस’, ‘हमारी अधूरी कहानी’,  ‘कहानी २’, ‘बेगम जान’जस्ता महिलाप्रधान फिल्ममा पनि विद्या देखिइन् तर दर्शक यी कथाहरुसँग खासै लोभिएनन्। 

सन् २०१७ मा विद्याको अर्को फिल्म आयो ‘तुम्हारी सुल्ु’ जहाँ उनी मध्यम वर्गीय विवाहित महिलाको भूमिकामा देखिइन्। फिल्ममा उनलाई रेडियो जक्कीको काम मिल्छ। यो सरल कथामा आधारित फिल्मबाट विद्या फेरि दर्शकको नजरमा परिन्। फिल्म समीक्षकहरुले पनि निकै मन पराए। अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डसमेत मिल्यो। फिल्मले करिब ३०–३५ करोड पनि कमायो। 

‘मिशन मंगल’ र ‘शकुंतला देवी’

सन् २०१९ मा विद्याको अक्षय कुमारसँग फिल्म ‘मिशन मंगल’ रिलिज भयो जसमा पनि उनको कामको सराहना भयो। त्यस्तै सन् २०२० मा कोरोना महामारीका दौरान अर्को फिल्म ‘शकुन्तला देवी’ ओटीटी प्लेटफार्ममार्फत रिलिज भयो। यसमा पनि उनको अभिनयको प्रशंसा भयो र फिल्मी अवार्डबाट सम्मानित समेत गरियो। 

‘शेरनी’

पछिल्लो साता विद्या नयाँ फिल्म ‘शेरनी’ ओटीटी प्लेटफार्ममा रिलिज भयो। फिल्म ‘न्यूटन’बाट नेसनल अवार्ड जितेका निर्देशक अमित मासूरकरले निर्देशन गरेको ‘शेरनी’मा विद्याले एक महिला वन अधिकारी विद्या विन्सेन्टको चरित्र निभाएकी छिन्। फिल्म समीक्षकहरु विद्याको यो चरित्रलाई उनका पछिल्लो फिल्मभन्दा विल्कुल अलग दावी गरिरहेका छन्। यो फिल्ममा उनी महिलाप्रति हुने भेदभाव र कार्यालयमा हुने पक्षपातको सामना गर्छिन्।  विद्याले आफ्नो अभिनयको एउटा नयाँ झलक यो फिल्ममा देखाएकी छिन्। 

के खास छ विद्या बालनमा ?

करिब दुई दशकको करिअरमा विद्या बालनले थुप्रै महिलाप्रधान फिल्म गरिन् र फिल्म इन्डष्ट्रीमा आफ्नो सिक्का जमाइन्। फिल्म व्यापार विश्लेषक अतुल मोहन भन्छन्, ‘फिल्म इन्डष्ट्री सधैँ पुरुषप्रधान रह्यो तर केही यस्ता अभिनेत्री छन् जसले आफ्नो अलग पहिचान बनाए। यसमा रेखा, हेमा मालिनी, वैजयन्तीमाला, श्रीदेवी र माधुरी दीक्षितजस्ता नाम सामिल छन्। जब यी अभिनेत्रीहरुको फिल्म आउँथ्यो, त्यतिबेला पूरा भारतको फिल्म क्षेत्र बुक भइसक्थ्यो। त्यस्तै समय अहिले विद्या बालन बनाउने कोशिश गरिरहेकी छिन्।’

उनी भन्छन्, ‘‘परिणीतापछि उनी एकसेएक राम्रो प्रस्तुति दिइरहेकी छिन्। ‘लगे रहो मुन्ना भाइ’ राजकुमार हिरानी र संजय दत्तको फिल्म थियो तर त्यसमा विद्याको गुड मर्निङ मुम्बई बोल्ने शैली आज पनि मान्छेहरुलाई याद छ। ‘नो वन किल्ड जेसिका’मा उनले अपरम्परागत रुप अपनाइन्। गम्भिर सिनेमा हुँदाहुँदै पनि यो फिल्म हिट भयो।’

अतुल मोहनका अनुसार आजको समयमा अभिनेत्रीहरु दुब्ली हुनुपर्छ, आधुनिक हुनुपर्छ, अंग्रेजीमा संवाद गर्न सक्नुपर्छ भन्ने धारणा बनिरहेको छ तर नूतनदेखि काजोलसम्मको जमानामा त्यस्ता अभिनेत्रीहरुको बोलबाला थियो जसमा भारतीयता देखिन्थ्यो। विद्या बालन पनि त्यही श्रेणीमा पर्छिन्। विद्या जब राम्रो कथाको हिस्सा बन्छिन्, तब दर्शक उनलाई हेर्न थिएटरसम्म पुग्छन्। ‘तुम्हारी सुलु’ यसकै उदाहरण हो ।

फिल्म इतिहासकार एसएमएम औसजालाई लाग्छ, विद्या बालन चिन्तनमा विश्वास गर्ने अभिनेत्री हुन्, उनी स्क्रिप्टलाई पढेर, सोचविचार गरेरमात्रै फिल्म गर्छिन्, त्यसैले उनको चरित्रमा निखारता आउँछ। 

‘उनले नराम्रो फिल्म पनि गरेकी छिन्, त्यसको कारण त्यतिबेला उनी यति लोकप्रिय भएकी थिइन् कि त्यतिबेला उनलाई कयौँ फिल्मको अफर आयो। त्यस्तो स्थितिमा स्टार केही त्यस्ता फिल्म पनि गर्न बाध्य हुन्छन्। तर, सँगसँगै उनले यस्तो फिल्म पनि गरिन् जसले उनको रचनात्मकता कायम राख्यो। जसरी ७० को दशकमा आम मानिसको चरित्र अमोल पालेकर निभाउने गर्थे, त्यसरी नै आज फिल्म इन्डष्ट्रीमा भारतीय महिलाहरुको सर्वोत्तम भूमिका निभाइरहेकी छिन्, विद्या बालन। उनको भारतीयता नै उनको पहिचान हो, जुन दर्शकलाई मनपर्छ।’ – सुप्रिया सोगले/बीबीसी हिन्दी