मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ अर्ब ३४ करोड बराबरको आईपीओ बिक्रीका लागि अनुमति

१४ अर्ब ३४ करोड बराबरको आईपीओ बिक्रीका लागि अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कुल १८ कम्पनीलाई साधारण सेयर (आईपीओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणानुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न पाउने अनुमति पाएको छ ।

बोर्डले दिएको अनुमतिका आधारमा हेर्दा कुल १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० रुपैयाँ बराबरको साधारण सेयर बिक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ । बोर्डका अनुसार २०७७ असारमा कुल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको संख्या शतप्रतिशतले वृद्धि भई ३५ लाख नाघेको अवस्था छ ।

यस्तै, सात लाखको हाराहारीमा रहेको मेरोसेयर खाताको संख्या समेत एक वर्षको अवधिमा साढे तीन गुणा बढीले वृद्धि भई २६ लाख पुगेको छ । यस्तै, प्राथमिक सार्वजनिक निष्कासनमा मुस्किलले पाँच लाखजनाले भाग लिने गरेकामा पछिल्लोपटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन् ।

पछिल्लोपटक सार्वजनिक निष्कासन गरेको जीवन विकास लघुवित्तको साधारण सेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो । जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण सेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ ।

धितोपत्र बजार अनलाइन कारोबारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआईडी लिएकामा हालसम्म त्यो संख्या बढेर ६ लाख ६० हजार बढी पुगेको छ । दैनिक ६ लाख बढीले कारोबारमा सक्रियता देखाएका छन् । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बोर्डका अनुसार चालु आवको १० महिनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो । प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको सानो बचत संकलन गरी दीर्घकालीन पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्‍याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ ।

बोर्डका अनुसार चालु आवको सुरुवातमा नै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण सेयर बिक्री गर्‍यो । यस्तै, समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आठ लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो ।

बोर्डबाट अनुमति पाउनेमा पाँच जलविद्युत् कम्पनी छन् । त्यसमा सिंगटी हाइड्रोपावरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो । उक्त परिमाणको सेयर आयोजना प्रभावित स्थानीयवासी र आम सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

ग्रिन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर बिक्री ग¥यो । बोर्डले अनुमति दिएको जलविद्युत् कम्पनीमध्ये प्रिमियमसमेत जोडेर साधारण सेयर बिक्री गर्नेमा रुरु जलविद्युत् परियोजना हो । सो कम्पनीले आठ करोड १५ लाख ४१ हजार १०० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण सेयर बिक्री गर्‍यो ।

सीईडीबी हाइड्रोपावर कम्पनीले पनि साधारण सेयर बिक्री गरिसकेको छ । यस्तै, तेह्रथुम पावरले साधारण सेयर बिक्रीका लागि अनुमति पाइसकेको छ । सो कम्पनीले १२ लाख कित्ता साधारण सेयर बिक्री गर्दै छ ।

साधारण सेयर बिक्री गर्ने कम्पनीमध्ये नेपाल पूर्वाधार बैंक ठूलो हो । सो बैंकले आठ अर्ब रुपैयाँ बराबरको साधारण सेयर चालु आवमा बिक्री गरेको हो । यस्तै, जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोसीले साधारण सेयर बिक्रीको अनुमति पाएको छ । सो कम्पनीले एक अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्दै छ ।

बोर्डका अध्यक्ष ढुंगानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजस्वमा समेत पुँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ । गत वर्षसम्म पुँजीगत लाभकरबापत सरकारलाई वर्षमा मुस्किलले एक अर्ब रुपैयाँ बराबरको योगदान पुर्‍याउने गरेकामा हाल महिनामै सोभन्दा बढी रकम संकलन हुन थालेको छ । लामो समयदेखि स्पष्ट नभएको पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ । रासस