मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ऋषिपञ्चमी, गौरिघाटमा स्नान गरी सप्तऋषिको पूजा गर्दै ब्रतालु (तस्बिरहरु)

आज ऋषिपञ्चमी, गौरिघाटमा स्नान गरी सप्तऋषिको पूजा गर्दै ब्रतालु (तस्बिरहरु)


काठमाडाैं । आज ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

वागमतीको गौरिघाटमा स्थान गरी सप्तऋषिको पूजा गर्नेहरुको भीड लागेको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले घरमै पूजा गर्न भने पनि दर्जनौंको संख्यामा व्रतालुहरु नजिकको गंगामा स्नानका लागि पुगेका छन् ।

रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । राजस्वला हुनु महिलाको शारीरिक तन्दुरुस्तीको पाटो भएकाले यसलाई कुरितीमा जोडेर व्यवहार गर्न हुने कतिपय अधिकारवादीहरुको मत छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

आज काठमाडौंको गौरिघाट, टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।