मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को बन्ला कमेडी च्याम्पियन ?

को बन्ला कमेडी च्याम्पियन ?


काठमाडौं । कमेडी च्याम्पिय सिजन–२ को ग्रान्ड फिनाले असोज २ गते हुँदै छ । कोरोना संक्रमणको त्रासका कारण नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । 

फाइनलमा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । उनीहरु फाइनलका लागि प्रस्तुति दिएर भोट माग्न होम टाउन पुगिसकेका छन् । गृह जिल्लामा भोट मागेर उनीहरु ग्रान्ड फिनालेका लागि काठमाडौं फर्किने छन् ।
 
फाइनलका लागि भोट अपिल गर्दै भरतमणिले आफ्नै गाउँ–समाज र त्यहाँको सामाजिक जीवन शैलीप्रति व्यङ्ग्य गरेका थिए । 

बिक्कीले अघिल्लो श्रृंखलामा आफूले दिएको प्रस्तुतिप्रति निर्णायकको प्रतिक्रिया र प्रतिस्पर्धीसँगको आफ्नो सम्बन्ध तथा आफूले असअघि दिएको चर्चित प्रस्तुतीलाई लिंक गरेका थिए । 

अर्का प्रतिस्पर्धी सन्तोष थापाले भरतमणि र बिक्कीप्रति  दर्शकको लोभलाग्दो क्रेजेको चेपुवामा आफू पर्दाको व्यङ्ग्यात्मक पीडालाई प्रस्तुतिको विषय बनाएका थिए । 

सन्तोषको यो प्रस्तुतिलाई निर्णायकले मन पराएका थिए । आफैंप्रति गरेको व्यङ्ग्यले उनीप्रति दर्शकको सहानुभूति प्रकट हुन सक्छ । जसले गर्दा अघिल्ला श्रृंखलाको अनुपातमा दर्शकको भोट उनलाई बढ्न सक्छ । 

भरतमणिले आफ्नो प्रस्तुतिमार्फत गाउँका लिम्बू समुदायलाई खुसी पार्ने प्रयास गरेका छन् । बाहुन–क्षेत्रीसँग तुलना गर्दै लिम्बू समुदाय दिलदार हुने उनले प्रस्तुतिमार्फत जनाएका थिए । यसलाई भोटका लागि गरेको चलाखी भनेर पनि अर्थ लगाउन सकिन्छ, भलै त्यो सत्य नै किन नहोस् । 

बिक्कीलाई नेपाल र नेपालबाहिरका नेपाली भाषीहरुको राम्रो साथ मिल्न सक्छ । रियालिटी शोहरुमा नेपालबाहिर बस्ने नेपालीभाषीहरुको बाक्लै आगमन हुने गरे पनि फाइनल पुग्ने उनी पहिलो व्यक्ति हुन् । त्यसैले यसको फाइदा उनले उठाउन सक्छन् ।
 
तर, रियालिटी शोमा प्रतिभाको सधैँ सही मूल्यांकन हुन्छ भन्ने हुँदैन । कारण प्रतिस्पर्धीको प्रतिभासँगै जातीयता, भूगोल र ऊ र उसका आफन्तको आर्थिक अवस्थाले पनि फरक पार्न सक्छ । कसका पक्षमा धेरै भोट आउँछ भन्नेभन्दा पनि जसले धेरै भोट गराउन सक्छ उसको पल्ला भारी हुन्छ भन्ने यर्थाथ यस अघिका रियालिटी शोका अनुभवहरुले प्रष्ट पारिसकेका छन् ।  यही कमेडी च्याम्पियनमै गेष्ट पफर्मरका रुपमा आउने कमेडियनहरुले विजेता र उसले पाउने आकर्षक प्राइज कसरी जितिन्छ भनेर गरेको व्यङ्ग्यले पनि केही संकेत गर्छ । भलै त्यसमा सतप्रतिशत सत्यता नहोला तर प्रस्तुतिले गरेको संकेतलाई नजरअन्दाज गर्न सकिन्न । यही सिजनका फाइनलिष्ट सन्तोषको प्रस्तुतिले पनि भोटको राजनीति छर्लङ्ग पारिसकेको छ । (भलै उनले भनेजति नहोला ।)

गत सिजनमा प्रत्यक्ष साथ नदिएका नेताहरुले यो पटक भने खुलेरै साथ दिएका छन् । आ–आफ्ना जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई साथ दिएका छन् । 

गोरखाका सन्तोष थापालाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको साथ छ । ताप्लेजुङका भरतमणिलाई पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराईको साथ छ । उनलाई पूर्व मन्त्री तथा नेपाली कांग्रेसका यूवा नेता गगन थापाको पनि साथ छ । जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा गगनले भरतमणिलाई भोट मागेका हुन् ।  

सिक्किमका बिक्की अग्रवाललाई मुख्य मन्त्री प्रेम सिंह तामाङको साथ छ । बिक्कीलाई मुख्य मन्त्री तामाङले ६ लाख आईसी दिएर सेमिफाइनल अगाडि नै भोटका लागि सहयोग गरेका थिए । अहिले पनि भोटको क्याम्पेनिङमा उनले सहयोग गरिरहेको कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारी बताउँछन् । 

भरतमणिलाई योगेशले भोटका लागि अपिल नै गरेका छन् । उनले यसअघि नै आफ्नै पहलमा ६ लाख रुपैयाँको पुरस्कारको घोषणा गरिसकेका छन् । उक्त पुरस्कार कमेडी च्याम्पियनको सेटबाट बाहिर आएपछि हस्तान्तरण गर्ने बताइएको छ । 

“पहिलो सिजनमा पनि प्रतिस्पर्धीलाई नेताहरुले सहयोग नगरेका होइनन् । तर, यो वर्ष नेताहरुले खुलेरै सहयोग गरे,” निर्देशक विशाल भन्छन् ।  

भरतमणिले अघिल्लो हप्ता पूर्व युवराज पारस शाहको हुबहु क्यारिकेचर गरेपछि कमेडी च्याम्पियन सिजन–२ को थप हाइप बढेको छ । भरतमणिले शाहको गटअपसहित नक्कल गरेका थिए ।