मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोमानथाङमा विश्वकै अग्लो स्थानको गल्फ क्लब बन्ने

लोमानथाङमा विश्वकै अग्लो स्थानको गल्फ क्लब बन्ने


काठमाडौं- विगतमा मुस्ताङको उपल्लो क्षेत्र लोमानथाङमा पर्यटन तथा आवगमन कम थियो। तर बाटो तथा पुल निर्माण भएपछि लोमानथाङ आन्तरिक पर्यटनको केन्द्र बन्दै गइरहेको छ। नेपालका विभिन्न ठाउँबाट लोमानथाङ पुग्नेहरुको संख्या पनि बढ्दै छ।

अनुपम प्राकृतिक सौन्दर्ययुक्त लोमानथाङलाई अब हाई अल्टिच्युड खेलकूदको गन्तव्य बनाउने योजना बनेको छ। योजना अनुसार लोमानथाङ–५ लोवाथाङमा हाई अल्टिच्युड गल्फ कोर्स बनाइने छ। दशैँभित्रमा गल्फ क्लब निर्माणको योजना यकिन हुने बताइएको छ। जसका लागि प्राविधिक टोली लोमानथाङ पुग्नेछ।

लोमानथाङमा स्पोर्टस टुरिज्म प्रवद्र्धन गर्न हाई अल्टिच्युड गल्फ क्लबको निर्माणको योजना बनेको स्थानियवासी एवं गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले बताए।

उनका अनुसार प्राविधिकको सल्लाह अनुसार ९ होलको गल्फ कोर्स बनाउने प्रारम्भिक योजना रहेको छ। गल्फ कोर्स लोवाथाङमा बनाइनेछ। सो स्थान लोमानथाङदेखि आधा घण्टाको दुरीमा छ।

सो स्थान समुन्द्र सतहदेखि ४६ सय ४५ मिटरको उचाइमा छ। उक्त गल्फ कोर्स निर्माण भयो भने सो कोर्स विश्वकै सर्वाधिक उचाईमा रहेको गल्फ कोर्स हुनेछ। नेपाल गल्फ संघका केन्द्रिय सदस्य भूबबहादुर गुरुङका अनुसार कोर्स हेरेपछि मात्र कति होलको बनाउने यकिन गर्न सकिन्छ।

‘पहिला हामीले फिल्ड हेर्नुपर्‍य। टेक्निकल मान्छेले पनि रिभ्यु गर्नुपर्यो। अनि मात्र ९ होल ठिक हुन्छ कि १८ होल ठिक हुन्छ निर्णय गर्न सकिन्छ,’ गुरुङले भने। उनले स्थान उपलब्ध भएसम्म फिल्ड भएसम्म फराकिलो बनाउनु उपयुक्त हुने विचार व्यक्त गरे। ‘९ होललाई फिल्ड भए अनुसार ४ हजार यार्डसम्म बनाउन सकिन्छ,’ उनी भन्छन्।

अहिके विश्वकै सर्वाधिक उचाईमा रहेको गल्फ कोर्स भारतको सिक्किममा छ। सो कोर्स ३ हजार ९ सय ७० मिटरको उचाईमा छ। त्यस्तै, दक्षिण अमेरिकी मुलुक बोलिभिथामा रहेको ला पाज गल्फ क्लब ३ हजार २ सय ६० मिटरको उचाइमा छ, जुन विश्वको दोस्रो उचाइमा रहेको कोर्स हो।

गत वर्षदेखि लोमानथाङमा पाँच करोडको गुरुयोजनासहित फुटबल मैदान, बास्केटबल तथा भलिबल कोर्ट निर्माण सुरु गरिएको छ। लोमानथाङमा कोरोना महामारीबीच पनि खेलाडीहरुले खोप दिएर फुटबल तथा भलिबल प्रतियोगिता सञ्चालन भएको थियो। – नेपालसमय