काठमाडौं- आजदेखि देशभर १२औं राष्ट्रिय जनगणना सुरु हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ९:३० बजे आफ्नो परिवारको विवरण टिपाएसँगै जनगणना सुरु हुने भएको हो।
‘मेरो जनगणना, मेरो सहभागिता’ जनगणनाको नारा रहेको छ। जनगणना मंसिर ९ मा सकिनेछ। मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि सुरु भएको राष्ट्रिय जनगणनामा यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक संघसंस्था एवं सम्बद्ध सबैमा आह्वान गरेकी छन्।
बिहीबार बिहान राष्ट्रिय जनगणना सफलताको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराउन आग्रह गरेकी हुन्।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन्।
राष्ट्रिय जनगणनाका अवसरमा उनले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गरेका छन्।
योजना आयोगका सदस्य रामकुमार फुँयालका अनुसार बिहीबार राष्ट्रपति भण्डारीको परिवारको विवरण लिइसकेपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणना हुनेछ।
जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन्। एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ। जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ।
जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिँदै छ। यी प्रश्नलाई पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ र दोस्रो मूल जनगणनामा ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ गरी तीन किसिमले विभाजन गरिएका छन्। पहिलो चरण ‘घर तथा घरपरिवार सूचीकरण’ भदौ ३० मा सुरु भएर असोज १८ मा सम्पन्न भइसकेको छ। गणकहरूले मुख्य प्रश्नावली लिएर प्रत्येक परिवारको मूलीसँग सोध्नेछन्।
यसअन्तर्गत घर तथा परिवारमूलीको नाम, परिवार सदस्यका नाम, लिंग, उमेर, जन्ममिति र महिना, ५ वर्षमुनिको जन्मदर्ता, जातजाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्मलगायत करिब ५० वटा प्रश्नको सोधेर विवरण लिइने छ।
नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ।




















प्रतिक्रिया