मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्ययनले भन्छ– वाइनले कोभिड संक्रमणको जोखिम कम गर्छ बियर चाहिँ घातक

अध्ययनले भन्छ– वाइनले कोभिड संक्रमणको जोखिम कम गर्छ बियर चाहिँ घातक


लण्डन । बेलायतको बायोब्यांकले गरेको एक अध्ययनमा हाम्रो मदिरा पिउने बानीले कोभिड संक्रमणको जोखिमलाई केकसरी प्रभाव पार्छ भन्नेमा खोज गरिएको थियो । यसै क्रममा वाइन पिउने गर्नुले संक्रमणको खतरा कम गर्न सक्ने पत्ता लागेको हो । 

उता बियर प्रेमीहरुका लागि चाहिँ नराम्रो समाचार रहेको छ । रिसर्चको डाटा अनुसार बियर र साइडर पिउनेहरुमा कोभिड संक्रमणको जोखिम अन्य कुनै मदिरा नपिउनेहरुको तुलनामा अत्यन्तै धेरै रहेको पाइएको हो । 

यो अध्ययन ‘फ्रन्टियर्स अफ न्युट्रिसन’ मा प्रकाशित भइसकेको छ । यसमा ४ लाख ७३ हजार भन्दा धेरै मानिसहरुको मेडिकल रेकर्ड अध्ययन गरिएको हो । यसमा कोभिड महामारीको अवधिभरि उनीहरुको मदिरा उपभोगको निरीक्षण गरिएको थियो । 

तर यस्तो निष्कर्ष निकाले पनि अध्ययनले मदिरा र स्वास्थ्य बीचको सम्बन्ध भने स्पष्ट रुपमा स्वीकार गरेको छ । अत्याधिक मात्रामा मदिरा सेवन गर्नुको नराम्रा असरबारे सबैलाई थाहा छ । अध्ययनले भनेको छ, “मदिरा सेवन र रोगहरुबीचको सम्बन्ध प्रायः अप्रत्यक्ष हुने गर्दछन् । जस्तै कम देखि मध्यम स्तरमा मदिराको उपभोग सुरक्षात्मक साबित हुन सक्छ भने अधिक मात्रामा सेवन गर्नु चाहिँ हानिकारक हुनेछ । ”

रिसर्चको डाटामा पत्ता लागे अनुसार मदिरा नपिउनेको तुलनामा रेड वाइन पिउनेहरुमा कोभिड–१९ को जोखिम १० देखि १७ प्रतिशत कम हुन्छ । त्यस्तै ह्वाइट वाइन या स्याम्पियन सेवन गर्नेहरुमा चाहिँ संक्रमणको जोखिम ७ देखि ८ प्रतिशत कम हुने गर्दछ । 

अर्कोतर्फ बियर र साइडर पिउने मानिसहरुमा चाहिँ कोभिडको जोखिम केही नपिउनेको तुलनामा २८ प्रतिशतले बढी रहेको पाइएको हो । 

यस निष्कर्षका लागि ‘पोलिफेनोल’ नामक तत्वको भूमिका प्रमुख हुन सक्ने वैज्ञानिकहरुको भनाइ छ । पोलिफेनोलले एन्टिअक्सिडेन्ट गुण दिन्छ र यसकारण नै मदिराहरुमा पनि रेड वाइनले कोभिडको जोखिम सबैभन्दा कम गराउने पाइएको उनीहरुले बताए । 

त्यसैले हप्तामा एक देखि दुई ग्लाससम्म वाइन या स्याम्पियन पिउने गर्नुले कोभिड हुने जोखिम वास्तवमै कम गराउन सक्ने अध्ययनले अन्तिममा उल्लेख गरेको छ ।