मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज स्वास्थ्य बीमा दिवस, २० प्रतिशत जनसंख्या मात्र बीमामा आवद्ध

आज स्वास्थ्य बीमा दिवस, २० प्रतिशत जनसंख्या मात्र बीमामा आवद्ध


काठमाडौं- ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ  आज शुक्रबार विभिन्न कार्यक्रमका साथ छैटौँ बीमा दिवस मनाइँदैछ।  

२०७२ सालमा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमाअन्तर्गत अहिलेसम्म ५३ लाख चार हजार २७० जनामात्र बीमामा समावेश भएका छन्। अर्थात कूल जनसङ्ख्याको २०.०३ प्रतिशत जनसङ्ख्याले मात्र बीमा गरेका छन्। 

तीमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९.३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन् । बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ। 

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताए। 

उनले कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पारे। उनले स्वास्थ्य बीमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरे पनि व्यावहारिक रूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताए। 

स्वायत्त संस्थाको रूपमा बोर्डलाई लैजानका लागि सरकारसँग ३७२ जनाको स्वीकृत दरबन्दी माग गरेको छ। तीन हजार ५०० रुपियाँको वार्षिक बीमा गरेवापत एक लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ।

बोर्डले ४४१ सरकारी र निजी अस्पतालमासँग बीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौता गरेको छ। बोर्डले बीमा कार्यक्रममार्फत अति गरिब, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको छ। 

नेपालमा अहिलेसम्म १५ लाख आठ हजार ५१४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन्। अति गरिब परिवारको चार लाख ८८ हजार चार जनाले, ज्येष्ठ नागरिक छ लाख ३४ हजार ७३५, एचआइभी संक्रमित २५ हजार २८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार ६२९ जना, कुष्ठरोग संक्रमित दुई हजार ८४९, क्षयरोगी दुई हजार ४७४ जनाले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन । 

आठ स्थानीय तह बाँकी
स्वास्थ्य बीमा कार्यक्रम आठ स्थानीय तहमा अझै लागू हुन सकेको छैन। ७७ जिल्लाका ७४५ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिए पनि उपत्यकाका आठ स्थानीय तहमा  बीमा कार्यक्रम लागू गरिएको छैन। बोर्डका शाखा अधिकृत सिर्जना पौडेलका अनुसार काठमाडौँ जिल्लाको काठमाडौँ महानगर, कीर्तिपुर, बुढानिलकण्ठ, शङ्खरापुर, नागार्जुन तथा ललितपुर जिल्लाको ललितपुर महानगण्रपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छैन।