मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोबोटमा मानव मस्तिष्क र व्यक्तित्व डाउनलोड गर्न मिल्ने !

रोबोटमा मानव मस्तिष्क र व्यक्तित्व डाउनलोड गर्न मिल्ने !


वासिङटन । विश्वका सबैभन्दा धनी अर्बपति तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारिणी अधिकारी एलन मस्कले निकट भविष्यमा नै मानव मस्तिष्क र व्यक्तित्व डाउनलोड गर्न मिल्ने यन्त्र बनाउने योजना बनाएका छन् । 

स्पेसएक्सका समेत मालिक मस्कले आफूले सन् २०२३ मा मानवरूपी रोबोटको व्यावसायिक रूपमा ठुलो परिमाणमै निर्माण गर्न सक्ने घोषणा गरेका छन् । मस्कले चाँडै नै ‘ओप्टिमस’ नामक रोबोटमा मानिसको मस्तिष्कका क्षमताहरू डाउनलोड कार्य सम्भव हुने तर त्यसका लागि नैतिक प्रश्नहरू खतराका रूपमा अघि आउन सक्ने बताएका छन् । 

हालसालै बिजिनेस इन्साइडरको माउ कम्पनी एक्जेल स्प्रिन्जरका प्रमुख कार्यकारिणी अधिकारी म्याथिअस डोफनरलाई अन्तर्वार्ता दिने क्रममा मस्कले यस्तो रोमान्चक योजनाको खुलासा गरेका हुन् । टेस्लाले सन् २०२१ मा पहिलो रोबोटको विकास गरेको थियो ।

डोफनरको प्रश्नको जवाफमा मस्कले भनेका छन्, “मेरो विचारमा यो काम सम्भव छ । यो एउटा छुट्टै प्रकारको अमर जीवन हुने छ । किनभने हामीले हाम्रो व्यक्तित्व नै रोबोटमा डाउनलोड गर्नेछौँ । पक्कै पनि रोबोटभित्र हामी हुँदैनौँ । तर रोबोटमा हामी हाम्रो स्मरण र व्यक्तित्वलाई संरक्षित गर्न सक्छौँ । प्रविधिको सहयोगमा हामीले यसअघि नै फोन र कम्प्युटरमा हाम्रा तस्बिर र भिडियोहरू सुरक्षित राख्नसक्ने भइसकेका छौँ । हाम्रो यस आगामी योजनासामु खासै अवरोधहरू तेर्सिएला जस्तो लाग्दैन । कम्प्युटर र फोनले सञ्चार सम्पर्क गर्न र पहिले चमत्कारै मानिने काम गराउन हाम्रा क्षमताको विस्तार गरिसकेका छन् ।”

‘टेस्ला बोट’ नामक पहिलो टेस्ला रोबोट सन् २०२१ को अगस्टमा तयार भएको थियो । १२५ पाउन्ड वजनको सो रोबोट ५ फिट ८ इन्च अग्लो थियो । गत जनवरीमा मस्कले यसलाई ‘वर्षकै सबैभन्दा महत्वपूर्ण विकसित उत्पादन’को संज्ञा दिएका थिए । जनवरीमै मस्कले कम्पनीले मानवरूपी रोबोट ‘ओप्टिमस’को विकास गरिरहेको संकेत पनि दिएका थिए ।

हुन त मस्कले सन् २०१८ मा नै ‘अति स्वचालित हुनु पनि गल्ती’ नै हुने स्वीकारेका थिए । मस्ककाअनुसार यसै वर्षको उत्तरार्धसम्ममा ओप्टिमसको प्रोटोटाइप तयार भइसक्ने छ भने टेस्लाले २०२३ देखि यसलाई बजारमै ल्याउने योजना बनाएको छ । 

द स्ट्रिटबाट ।